वीरगञ्ज, १२ असार — आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संघीय सरकारले ल्याएको आगामी वर्षको बजेटमा वीरगञ्जलाई गम्भीर रूपले उपेक्षा गरिएको टिप्पणी गरेका छन्।
आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता साहले वीरगञ्जबाट तीनजना मन्त्री संघीय सरकारमा भए पनि बजेटमा वीरगञ्जले न्याय नपाएको बताएका हुन्। उनले नारायणी अस्पताललाई मेडिकल कलेजमा स्तरोन्नति गर्ने, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय बनाउने, नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको स्मार्ट रंगशाला बनाउने तथा वीरगञ्जलाई आर्थिक राजधानीको रूपमा विकास गर्ने आश्वासनमात्र दिइएको तर बजेटमा त्यो प्रतिबिम्बित नभएको भन्दै गुनासो गरे।
“कांग्रेसकै खेलकुद मन्त्री यहाँ छन्, अनि कांग्रेसले वीरगञ्जमा हस्ताक्षर अभियानको नाटक गरिरहेको छ,” भन्दै उनले कांग्रेसमाथि व्यंग्य गरे। “यहाँ आउँदा अर्बौंको बजेट ल्याएको भन्छन्, काठमाडौं पुग्दा भने वीरगञ्जले बजेट पाएन भनेर हात झिक्छन् — अब यो नाटक बन्द गर्नुपर्छ,” साहको भनाइ थियो।
साहले मधेशमा विद्यार्थी अनुपातअनुसार विषयगत तथा तहगत शिक्षकको उचित व्यवस्था नभएको भन्दै शिक्षा प्रणाली नै बर्बाद पार्ने षड्यन्त्र भइरहेको आरोपसमेत लगाए।
फरक प्रसंगमा अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न स्पेन भ्रमणलाई ‘फजुल खर्च’ को संज्ञा दिँदै सरकार जनताको करको दुरुपयोग गरिरहेको आरोप लगाए। “युद्धरत मुलुकमा फसेका नेपाली फर्काउन भारतसँग सहयोग माग्नुपर्ने अवस्था छ, तर प्रधानमन्त्री र मन्त्रीहरू भने लावालस्करसहित विदेश सयरमा निस्कने तयारीमा छन्,” उनले भने।
साहले वर्तमान सरकार कर आतंकमार्फत उद्योगी, व्यापारी र आम जनताको जीवन कष्टकर बनाएको र बजेटको दुरुपयोग गर्दै नेताको ‘भुँडी भर्ने’ प्रवृत्ति मौलाएको आरोप लगाए।
“यो सरकार न जनताको लागि काम गर्छ, न कांग्रेस र एमालेका सामान्य कार्यकर्ताको लागि पनि उपयोगी देखिन्छ,” उनले भने, “केवल स्वार्थको गठबन्धनले टिकिरहेको सरकार अब विस्फोटको चरणमा प्रवेश गरिसकेको छ। न राष्ट्रिय राजनीति शुद्ध छ, न विदेश नीति सन्तुलित।”
साहले जताततै ‘भाँडभैलो र उपद्रो’ मच्चाउने सरकारप्रति चर्को असन्तोष व्यक्त गर्दै जनताले यस्ता क्रियाकलापलाई अब सहन नहुने चेतावनीसमेत दिए।
