वीरगञ्ज, असार ११ — सुरक्षित गर्भपतनलाई अपराधको रूपमा नभई प्रत्येक व्यक्तिको स्वास्थ्य अधिकारको रूपमा स्थापित गर्नुपर्नेमा वीरगञ्जमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले विशेष जोड दिएका छन्।
**गैरनाफामूलक संस्था ‘युवा’**ले सञ्चालन गर्दै आएको ‘यूथ एक्सेस परियोजना’ अन्तर्गत “सुरक्षित गर्भपतन स्वास्थ्य अधिकार हो, अपराध हैन” भन्ने मूल नारासहित वीरगञ्जमा बुधवार कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कानुनी, प्रशासनिक, सामाजिक र स्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी थिए। उनीहरूले सुरक्षित गर्भपतनबारे विद्यमान कानुनी प्रावधानहरू, व्यवहारमा देखिएका चुनौतीहरू र समाधानका उपायहरूबारे विचार व्यक्त गरे।
अधिवक्ता विद्या कटुवालले नेपालको संविधान र मुलुकी अपराध संहिता, २०७४ अनुसार १२ हप्तासम्मको गर्भ र विशेष अवस्थामा (जस्तै बलात्कार, गर्भवतीको स्वास्थ्यमा जोखिम, भ्रूणमा गम्भीर असामान्यता) २८ हप्तासम्मको गर्भपतन कानुनी रूपमा मान्य रहेको बताइन्। तर, उनले सामाजिक लाञ्छना, जानकारीको अभाव, र तालिमप्राप्त जनशक्तिको कमीले गर्दा ग्रामीण क्षेत्रमा सेवा पुग्न नसकेको औंल्याइन्।
“कानुनले अनुमति दिए पनि व्यवहारमा पुग्न नसक्नु मुख्य चुनौती हो,” उनले भनिन्।
वीरगञ्ज महानगरपालिकाकी सुरक्षित गर्भपतन सेवा फोकल पर्सन इन्दिरा लोहनीले सुरक्षित गर्भपतन सेवा प्रभावकारी बनाउन महानगरले निरन्तर प्रयास गरिरहेको बताइन्। उनका अनुसार हाल पाँच वटा सूचीकृत स्वास्थ्य संस्थाबाट तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत सेवा दिइँदैछ।
“कानुनी प्रावधानअनुसार योग्य स्वास्थ्यकर्मीबाट मात्र सेवा दिन पाइने भएकाले विस्तारमा केही चुनौती छ,” उनले भनिन्, “तर हामी स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गर्दै सेवा पहुँच अझै बढाउने प्रयासमा छौँ।”
मेरी सर्भिस सेन्टरका प्रमुख सन्दीप चौरसियाले सुरक्षित गर्भपतन सेवामा गोपनीयता एक अत्यन्त संवेदनशील पक्ष भएको बताउँदै, संस्थाले सेवाग्राहीको व्यक्तिगत विवरण गोप्य राख्दै गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको उल्लेख गरे।
कार्यक्रममा पूर्व यूथ च्याम्पियन नेहा पटेलले ‘यूथ एक्सेस परियोजना’ले युवामाझ सुरक्षित गर्भपतनबारे चेतना फैलाएको अनुभव सुनाइन्। “स्कूल, कलेज र समुदायमा गएर खुला छलफलका माध्यमबाट हामीले सामाजिक लाञ्छनामा कमी ल्याउन प्रयास गरेका छौँ,” उनले भनिन्।
अन्य यूथ च्याम्पियनहरू — राजन झा, अंकृत कर्ण, र सुस्मिता चालिसे — ले परियोजनामा सहभागी भएपछि आफूहरूमा आएको आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक समझबारे अनुभव बाँडे।
‘युवा’ले वीरगञ्जमा चार वर्षदेखि ‘यूथ एक्सेस परियोजना’ सञ्चालन गर्दै आएको छ। यस अवधिमा ४० जना यूथ च्याम्पियन र १०० भन्दा बढी स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ।
संस्थाका कार्यसमिति सदस्य सदिक सिद्दिकीले भने, “हामीले युवालाई सशक्त बनाउँदै समुदायमा चेतना फैलाएका छौँ। अब यो अभियानलाई ग्रामीण क्षेत्रमा पनि विस्तार गर्ने तयारीमा छौँ।”
कार्यक्रममा सहभागीहरूले सुरक्षित गर्भपतनबारे सामाजिक चेतना, कानुनी पहुँच, गोपनीय सेवा, र सरकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकाले।
संचारकर्मी सूर्यनारायण विकको सहजीकरणमा सम्पन्न कार्यक्रमको समग्र संयोजन आशु कुमार सर्राफले गरेका थिए।
कार्यक्रमले सुरक्षित गर्भपतनलाई अपराधको रूपमा होइन, स्वास्थ्य अधिकारको रूपमा स्थापित गर्न समुदाय, सरकार र संस्थाबीचको सहकार्य अपरिहार्य रहेको सन्देश दिएको छ।
