आज:  | Tue, 21, Apr, 2026

बहुदरमाई नगरपालिकाले सार्वजनिक गर्‍यो ४९ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यमा उच्च प्राथमिकता

Avatar photo दिशा निर्देश १० असार २०८२, मंगलवार १६:४४ मा प्रकाशित (१0 महिना अघि)

वीरगञ्ज- पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ४९ करोड ५२ लाख ४६ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। “बहुदरमाईबासीको रहर : स्वच्छ, सुन्दर, सुरक्षित र समृद्ध नगर” भन्ने नाराका साथ सार्वजनिक गरिएको यो नीति तथा कार्यक्रम नगरको बहुअरीस्थित कार्यालय परिसरमा आयोजित समारोहकाबीच प्रस्तुत गरिएको हो।

कार्यक्रममा नगर उपप्रमुख सुस्मा कुमारी कुशवाहाले आगामी वर्षका प्रमुख नीति तथा कार्यक्रम विस्तारमा प्रस्तुत गरेकी थिइन्।

नगरपालिकाले प्रस्तावित बजेट संघीय सरकारबाट समानिकरण, सर्तगत, विशेष र समपूरक अनुदान तथा राजस्व बाँडफाँडमार्फत प्राप्त हुने उल्लेख गरेको छ। साथै, मधेश प्रदेश सरकारबाट पनि यस्तै शीर्षकबाट बजेट संकलन हुने अपेक्षा गरिएको छ।

आन्तरिक स्रोतमा मालपोत रोयल्टी, बैंक मौज्दात, सेवा शुल्क लगायतका माध्यमबाट राजस्व उठाउने योजना छ। साथै, जिल्ला समन्वय समिति, एलजीसीसिडिपी कार्यक्रम, सडक बोर्ड नेपाललगायतका निकायबाट समेत बजेट प्राप्त हुने अनुमान गरिएको छ।

प्रस्तावित बजेटलाई नगरपालिकाले पाँच प्रमुख विषयगत क्षेत्रमा विनियोजन गर्ने योजना बनाएको छ:शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, संस्कृति, महिला, बालबालिका, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकको हितमा २१ करोड २५ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ। यो वर्षको सबैभन्दा ठूलो विनियोजन यही क्षेत्रमा गरिएको हो।सडक, पुल, भवन, ऊर्जा, सञ्चार, जलविद्युतलगायत भौतिक पूर्वाधार विकासका लागि १४ करोड ८४ लाख ११ हजार १०० रुपैयाँ छुट्याइएको छ।

कृषि, सिँचाइ, पर्यटन, उद्योग व्यवसाय र सहकारी प्रवर्द्धनका लागि ३ करोड २५ लाख ७५ हजार १०० रुपैयाँ विनियोजन गरिएको छ। वातावरणीय सन्तुलन र विपद् प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यले ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसमा जलवायु परिवर्तन अनुकूलन, जलस्रोत संरक्षण, फोहरमैला व्यवस्थापनजस्ता कार्यक्रम समावेश छन्।

नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउने लक्ष्यसहित ९ करोड ५१ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ। यसले संगठनात्मक सुधार, मानव संसाधन विकास, वित्तीय व्यवस्थापन र संस्थागत संरचनामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

समारोहमा नगर प्रमुख सिंगासन सा तेलीसहित सम्पूर्ण नगरसभा सदस्य, नगर कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानिय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


सम्बन्धित खबरहरु