वीरगञ्ज – पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाले आज (मंगलबार) १५औँ गाउँसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५९ करोड ३१ लाख ५८ हजार ३०३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको सभाहलमा आयोजित गाउँसभामा अध्यक्ष यशवन्त यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। गाउँपालिका उपाध्यक्ष शर्मिला बिस्ट महतोले आगामी वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्।
गाउँसभा कार्यक्रममा गाउँपालिकाका ६ वटै वडाका अध्यक्ष तथा सदस्यहरू, कार्यपालिका सदस्य, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, समाजसेवी, शिक्षक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अध्यक्ष यादवले गाउँपालिकाको भावी योजना सार्वजनिक गर्दै ‘एक गाउँ, एक उद्यम’ कार्यक्रमलाई उच्च प्राथमिकता दिइने बताए। उनले विद्यालयहरूको अनुगमन गरी आवश्यक पूर्वाधार निर्माण तथा प्राविधिक शिक्षामा जोड दिने योजना रहेको बताए।
स्वास्थ्य क्षेत्रमा आधारभूत अस्पताललाई थप व्यवस्थित बनाउँदै ‘स्वास्थ्य बीमा कार्यक्रम’लाई प्रोत्साहन गर्ने घोषणा गरिएको छ।
कृषि क्षेत्रको विकासका लागि ट्रान्सफार्मर र पोलको व्यवस्था, कृषि उपजको बजार विस्तार, कोल्ड स्टोर स्थापना, आधुनिक कृषि बजार निर्माण, ‘एक घर, एक रुख’ अभियान, पशु बीमा तथा अर्गानिक खेती प्रवर्द्धनजस्ता कार्यक्रम प्राथमिकतामा परेका छन्।
भौतिक पूर्वाधारतर्फ कालोपत्रे सडकको विस्तारमा विशेष ध्यान दिइने बजेटमा उल्लेख गरिएको छ।
