आज:  | Tue, 21, Apr, 2026

पर्साको जीराभवानी गाउँपालिकाद्वारा ३६ करोडको बजेट सार्वजनिक

Avatar photo दिशा निर्देश ८ असार २०८२, आईतवार १६:५० मा प्रकाशित (१0 महिना अघि)

वीरगन्ज –  पर्सा जिल्लाको जीराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३६ करोड रुपैयाँको अनुमानित बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

आइतबार वडा नं. ३ स्थित वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। प्रस्तुत कार्यक्रममा शिक्षा, कृषि तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको उल्लेख छ।

उपाध्यक्ष चौधरीका अनुसार गाउँपालिका भित्र रहेका दुई माध्यमिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षा निरन्तर सञ्चालन गरिनेछ। साथै, आगामी फागुन महिनाभित्र पालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न गरिने र कार्तिक/मंसिर महिनाभित्र १० शैयाको आधारभूत अस्पताल सञ्चालनमा ल्याइने लक्ष्य लिइएको छ।

कृषि क्षेत्र सुधारका लागि उत्पादन भएका अन्नबालीको मूल्य र बजार सुनिश्चित गर्नेतर्फ विशेष ध्यान दिइनेछ। किसानलाई आवश्यक रासायनिक मल, उन्नत बीउ, कीटनाशक औषधि जस्ता कृषिउपकरण समयमै उपलब्ध गराई उचित मूल्यमा उपलब्ध गराउने नीति अवलम्बन गरिनेछ।

सिचाइ पूर्वाधार विकासका लागि चालु योजनाअन्तर्गत ८० लाख रुपैयाँ बराबरको विद्युत प्रसारण कार्य अघि बढिरहेको र आगामी वर्ष प्रदेश सरकारसँग माग गरिएका ५ करोड रुपैयाँ बराबरका आयोजनाबाट किसानलाई आत्मनिर्भर बनाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले जानकारी दिए। साथै, नदी–खोला समेट्ने सिचाइ योजनाको प्रारम्भ र जलस्रोत संरक्षण तथा संवर्द्धनमा पनि पालिका सक्रिय हुने उनको भनाइ थियो।

आगामी वर्षका लागि प्रस्तुत ३६ करोडको बजेटमध्ये संघीय सरकारको वित्तीय समानीकरणमार्फत ९ करोड, सर्तसहितको अनुदानबाट १८ करोड, राजस्व बाँडफाँडबाट ८ करोड र आन्तरिक स्रोतबाट १ करोड रुपैयाँ जुटाइने उल्लेख छ।

गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, वडाध्यक्षहरू रामशरण ख्वास थारु, महादेव महतो थारु तथा कार्यपालिका सदस्य सरोज चौरसियाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत शिवराज फूयालले गरेका थिए।


सम्बन्धित खबरहरु