आज:  | Tue, 21, Apr, 2026

गढीमाई नगरपालिकाको १२औँ नगरसभा सम्पन्न, करिब ५५ करोडको बजेट पारित

Avatar photo दिशा निर्देश ८ असार २०८२, आईतवार ०८:५१ मा प्रकाशित (१0 महिना अघि)

रौतहट – रौतहटको गढीमाई नगरपालिकाको १२औँ नगरसभाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५४ करोड ९१ लाख ७२ हजार १ सय ८ रुपैयाँको बजेट पारित गरेको छ। शनिबार नगरपालिकाको सभाकक्षमा बसेको नगरसभामा नगर प्रमुख श्यामप्रसाद यादवले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्।

नगरपालिकाले प्रस्तुत बजेटमा पुँजीगत खर्चतर्फ १९ करोड १५ लाख ४९ हजार रुपैयाँ र चालु खर्चतर्फ ३५ करोड ७६ लाख २३ हजार १ सय ८ रुपैयाँ विनियोजन गरिएको छ। बजेटलाई पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रलगायत प्राथमिकता क्षेत्रमा केन्द्रित गरिएको नगरपालिकाले जनाएको छ।

बजेट प्रस्तुत गर्दै नगर प्रमुख श्यामप्रसाद यादवले आगामी वर्ष नगरका विकास योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले विकासको लक्ष्य हासिल गर्न सबै जनप्रतिनिधि, कर्मचारी र नगरवासीहरूबीच सहकार्यको आवश्यकताको विषयमा जोड दिए।

नगरसभामा जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादव प्रमुख अतिथिको रूपमा सहभागी थिए। त्यसैगरी, उपनगर प्रमुख स्मिता कुमारी यादव, वडा नं. १ देखि ९ का वडाध्यक्ष र वडा सदस्यहरू, नगरपालिका कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


सम्बन्धित खबरहरु