आज:  | Tue, 21, Apr, 2026

११ महिनामा वीरगञ्ज नाकाबाट १ अर्ब ८४ करोड मूल्यका २ हजार ३८५ विद्युतीय सवारीसाधन आयात

Avatar photo दिशा निर्देश ७ असार २०८२, शनिबार ०८:३४ मा प्रकाशित (१0 महिना अघि)

वीरगञ्ज — चालु आर्थिक वर्ष (आव)को ११ महिनामा पर्साको वीरगञ्ज नाका हुँदै साना–ठूला गरी कुल २ हजार ३८५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार, ती सवारीसाधनको मूल्य एक अर्ब ८४ करोड २३ लाख रुपैयाँ बराबर रहेको छ।

विद्युतीय सवारीसाधनको यो आयातबाट सरकारले एक अर्ब ८४ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार वीरगञ्ज नाका हुँदै परम्परागत रूपमा इन्धनबाट चल्ने सवारीसाधनको आयात उच्च रहने गरे पनि विद्युतीय सवारीसाधनको आयात दर पनि पछिल्ला वर्षमा क्रमशः बढ्दो अवस्थामा छ। “विद्युतीय सवारीसाधनको आयात औसतमा सन्तोषजनक देखिएको छ,” उनले भने।

भन्सार तथ्यांकअनुसार, चालु आवको ११ महिनाको अवधिमा विभिन्न क्षमताका विद्युतीय सवारीसाधन यसप्रकार आयात भएका छन् ५० किलोवाट क्षमताका १९३ वटा जीप, कार तथा भ्यान, मूल्य: २७ करोड ११ लाख

५१ देखि १०० किलोवाट क्षमताका ५० वटा जीप, कार तथा भ्यान, मूल्य: १३ करोड ४२ लाख १०१ देखि २०० किलोवाट क्षमताका ३६ वटा जीप, कार तथा भ्यान, मूल्य: २४ करोड ७५ लाख विद्युतीय मोटरसाइकल १,७०१ वटा, मूल्य: ४० करोड ७८ लाख

विद्युतीय सवारीसाधनको बढ्दो आयातले नेपालको हरित ऊर्जा प्रयोग र वातावरणमैत्री यातायाततर्फको अग्रसरतालाई समेत संकेत गरेको बताइएको छ।


सम्बन्धित खबरहरु