ओखलढुङ्गा — ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार रुपैयाँ नगद सहायता उपलब्ध गराउने भएको छ।
मोलुङ–६ श्रीचौरकी ३२ वर्षीया हीरा तामाङले गत शुक्रबार सफल शल्यक्रिया मार्फत एकैपटक तीन शिशुलाई जन्म दिएपछि गाउँपालिकाले राहतस्वरूप आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष उत्तम राईका अनुसार नवजात शिशु र आमाको पोषण तथा स्याहारका लागि उक्त सहयोग उपलब्ध गराइनेछ। “शिशु र आमाका लागि पोषिलो आहार किन्न सहज होस् भनेर यो सहयोग गरिएको हो,” उनले भने।
साथै, गाउँपालिकाले आमा र शिशुको स्वास्थ्य अवस्था सुनिश्चित गर्न स्वास्थ्य शाखा तथा श्रीचौर स्वास्थ्यचौकीमार्फत नियमित स्वास्थ्य परीक्षण र निगरानी राख्ने निर्णय पनि गरेको छ।
हाल आमा हीरा तामाङ र तीनै जना शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।
