राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ।
नियमित तालिका अनुसार एसईईको नतिजा असारको पहिलो साता प्रकाशित हुनुपर्ने थियो। तर गत चैत २० गतेदेखि शिक्षकहरूले २९ दिनसम्म आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण प्रक्रिया ढिला भयो, जसका कारण नतिजा प्रकाशनको मिति पनि पछाडि धकेलिएको हो।
परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार, “शिक्षकहरूले २९ दिनसम्म आन्दोलन गर्नुभयो। दुई दिन आउजाउमा खर्च भयो। त्यसले गर्दा परीक्षण ढिलो सुरु भयो। अब नतिजा असारको तेस्रो साताभन्दा अगाडि आउन सम्भव छैन।”
उनका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ। “बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर परीक्षणको काम भइरहेको छ। केही स्थानमा अझै परीक्षण बाँकी छ। सबै परीक्षण सकिएपछि इन्ट्री र रुजु गरी त्रुटि नहुने गरी मात्र नतिजा सार्वजनिक गरिनेछ,” उनले बताए।
एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेडवृद्धि तर्फ ६७ हजार ७१५ जना सहभागी भएका थिए। यसअनुसार जम्मा परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको छ।
