वीरगञ्ज, २ असार- वीरगञ्जमा रगतको अभाव गहिरिँदो छ। रक्तसञ्चार केन्द्र वीरगञ्जमा कुनै पनि रक्तसमूहको रगत मौज्दात नरहेको प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए। उनका अनुसार हाल केन्द्रमा ए पोजेटिभ, बी पोजेटिभ, ओ पोजेटिभ लगायत सबै समूहका रगतको माग उच्च रहेको छ।
दिनहुँ १०० देखि १५० प्वाइन्टसम्म रगतको माग हुने गर्दछ। तर हाल जसलाई रगत आवश्यक छ, उसैले आफैं एकजना रक्तदाता ल्याएपछि मात्र रगत प्राप्त गर्न सक्ने अवस्था रहेको पाण्डेले जानकारी दिए।
उनका अनुसार जेठ महिनामा मात्रै १,७४६ प्वाइन्ट रगत वितरण गरिएको थियो। सामान्यतया मासिक रूपमा १,५०० देखि १,८०० प्वाइन्टसम्म रगत वितरण गरिने केन्द्रमा अहिले पूर्णरूपमा रगतको अभाव देखिएको छ।
रगत नपाएर दिनहुँ कैयौं सेवाग्राहीहरू रित्तै फर्किनुपरेको छ भने बिरामीका आफन्तले रक्तदाता खोजेर ल्याउनुपर्ने बाध्यता छ। अत्यधिक गर्मीका कारण रक्तदान कार्यक्रमहरू पनि अपेक्षाकृत कम भएकोले रगतको अभाव थप गहिरिएको केन्द्रका सहायक राजन श्रीवास्तवले बताए।
यस सन्दर्भमा केन्द्रले आम सर्वसाधारणमा रक्तदानका लागि विशेष अनुरोध गरेको छ।
