वीरगञ्ज— मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट प्रदेश मन्त्रिपरिषद्ले पारित गरेको छ। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको हो।
मुख्यमन्त्री सतिस कुमार सिंहका अनुसार बैठकले ४७ अर्ब रुपैयाँको सीमा भित्र रहेर बजेट ल्याउने निर्णय गरेको छ। उनले बताएअनुसार, “बजेटको रूपरेखा तयार भइसकेको छ, मन्त्रिपरिषद्को अनुमोदन पनि भइसकेको छ। अब प्रदेश सरकारको तर्फबाट अर्थमन्त्रीले आगामी दिनमा प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्नु हुनेछ।”
प्रदेश सरकारको नीति तथा प्राथमिकता अनुरूप बजेट तयार पारिएको जनाइएको छ। आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा, पूर्वाधार विकास, रोजगारी सृजना, स्वास्थ्य, शिक्षा र कृषिमा विशेष प्राथमिकता दिइने उच्च स्रोतले जनाएका छन्।
संविधान अनुसार, प्रदेश सरकारले प्रत्येक वर्ष असार १ गतेभित्र आगामी वर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। प्रदेशसभामा प्रस्तुत भएपछि बजेटमाथि छलफल र अनुमोदनको प्रक्रिया अगाडि बढ्नेछ।
