आज:  | Tue, 21, Apr, 2026

वीरगंज–मोतिहारी चेम्बरबीच बीटुबी छलफल, औद्योगिक सहकार्यमा जोड

Avatar photo दिशा निर्देश १ असार २०८२, आईतवार १६:४६ मा प्रकाशित (१0 महिना अघि)

वीरगंज, १ असार – वीरगंज उद्योग वाणिज्य संघ र भारतको पूर्वी चम्पारणस्थित मोतिहारी चेम्बर अफ कमर्शबीच द्विपक्षीय व्यापार विस्तार (बीटुबी) सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ । मोतिहारीमा आयोजित कार्यक्रममा नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेका उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको खस्कँदो अवस्थालाई मध्यनजर गर्दै सहकार्य र संभावनाको विषयमा व्यापक छलफल गरिएको हो ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले वीरगंजको भौगोलिक र आर्थिक महत्त्वबारे प्रकाश पार्दै यस क्षेत्रलाई औद्योगिक लगानीको लागि अत्यन्त उपयुक्त गन्तव्यको रूपमा चित्रण गर्नुभयो । उहाँले वीरगंजले देशको आर्थिक उन्नतिमा खेलेको भूमिकालाई उल्लेख गर्दै भारतीय उद्योगी तथा लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभयो । साथै, नेपालका पर्यटकीय सम्भावनाहरूको चर्चा गर्दै विश्वका पर्यटकलाई आकर्षित गर्ने वातावरण रहेको पनि बताउनुभयो ।

त्यसैगरी, मोतिहारी चेम्बर अफ कमर्शका अध्यक्ष अंगद सिंहले वीरगंजलाई नेपालको प्रमुख औद्योगिक क्षेत्रका रूपमा चिनाउँदै यो क्षेत्रले देशको कुल राजस्वमा ५० प्रतिशतभन्दा बढी योगदान गरेको तथ्य प्रस्तुत गर्नुभयो । उहाँले वीरगंजमा औद्योगिक विकासले लिएको गति र त्यहाँ अपनाइएका प्रविधिहरुबाट मोतिहारी क्षेत्रले सिक्न सक्ने सुझाव पनि दिनुभयो ।

बीटुबी मिटिङ्गमा दुवै चेम्बरका सदस्यहरूका साथै मोतिहारी र वीरगंजका उद्योगी–व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो । उनीहरूले आ–आफ्ना उद्यम तथा व्यवसायसँग सम्बन्धित अनुभवहरू आदानप्रदान गर्दै सम्भावित साझेदारीबारे विस्तृत छलफल गरेका थिए ।

कार्यक्रममा उठेका विभिन्न जिज्ञासाको उत्तर वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले विस्तृत रूपमा दिनुभएको थियो । कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष मनोजकुमार दास, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोज रुँगटा, सचिव प्रेमचन्द्र गोयल, सह–सचिवद्वय नरेश टिबडेवाल र अनुप अग्रवाल, कार्यसमिति सदस्य दीपक टिबडेवाल, मनोज कुमार शर्मा, पन्नालाल साह, प्रमोदकुमार चौरसिया लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित खबरहरु