वीरगञ्ज — मुलुकका सातवटै प्रदेश सरकारले आज (असार १ गते) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक बजेट सार्वजनिक गर्दै छन्। संविधानले प्रदेश सरकारले प्रत्येक वर्ष असार १ गते बजेट ल्याउनु पर्ने व्यवस्था गरेअनुसार आज एकैदिन सबै प्रदेशहरू आफ्नो आर्थिक योजना प्रस्तुत गर्न लागेका हुन्।
यसअघि संघीय सरकारले जेठ १५ गते नै बजेट सार्वजनिक गरिसकेको छ भने स्थानीय तहहरूले असार १० गतेसम्म आफ्ना बजेट सार्वजनिक गर्नेछन्।
प्रदेशहरूबाट प्राप्त प्रारम्भिक विवरणअनुसार कोशी प्रदेशले करिब ३५ देखि ४० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। मधेश प्रदेशको बजेट यसको तुलनामा ठूलो हुने अपेक्षा गरिएको छ — प्रदेशले करिब ४५ अर्ब बराबरको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।
बाग्मती प्रदेश सरकारले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमार्फत करिब ६८ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ, जुन हालसम्मकै ठूलो बजेटमध्ये पर्न सक्छ।
गण्डकी प्रदेशले करिब ३२ अर्बको बजेट ल्याउने तयारी गरेको छ भने लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षको तुलनामा केही कम बजेट ल्याउने अनुमान गरिएको छ। लुम्बिनी सरकारले अघिल्लो वर्ष करिब ३९ अर्बको बजेट सार्वजनिक गरेको थियो।
त्यस्तै, कर्णाली प्रदेशले करिब ३१ अर्बको बजेटको खाका तयार पारेको छ भने सुदूरपश्चिम प्रदेशले पनि चालु आर्थिक वर्षकै हाराहारीमा — झण्डै ३१ अर्बको बजेट ल्याउने तयारी गरेको छ।
आज सार्वजनिक हुने बजेटहरूले आगामी वर्ष प्रदेशहरूको पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, तथा कृषि क्षेत्रमा के-कस्ता प्राथमिकता रहनेछ भन्ने स्पष्ट पार्नेछ। बजेटमार्फत जनअपेक्षा सम्बोधन हुने वा नहुने भन्ने विषयमा चासो बढिरहेको छ।
