काठमाडौं —संघीय सरकारको तयारीअनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा ३१८ जना नयाँ स्वास्थ्यकर्मी थपिने भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशनमा गठित कार्यदलको प्रतिवेदनअनुसार देशभरका संघीय अस्पतालहरूमा दुई हजार एक सय दुई जनशक्ति थपिने भएको हो।
मन्त्री पौडेलले स्वास्थ्य संस्थामा बढ्दो बिरामीको चापलाई व्यवस्थापन गर्न संघीय अस्पतालहरूमा जनशक्ति थप गर्ने प्रक्रिया अघि बढाएका छन्। यसका लागि प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा गठन गरिएको आन्तरिक कार्यदलले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण प्रतिवेदनमार्फत संरचना प्रस्ताव गरेको हो।
कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार सबैभन्दा बढी जनशक्ति देशकै ठूलो वीर अस्पतालमा थपिनेछ। वीर अस्पतालमा ७७७ जना जनशक्ति थपिने प्रस्ताव गरिएको छ भने सोही अस्पताल अन्तर्गतको ट्रमा सेन्टरमा ९० जना नयाँ स्वास्थ्यकर्मी थपिने छन्।
त्यस्तै, काठमाडौंको कान्ति बाल अस्पतालमा ७८, प्रसूति अस्पतालमा १७३, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा ३१७, कोशी अस्पतालमा १७२, भेरी अस्पतालमा १७९ जनशक्ति थपिने प्रस्ताव गरिएको छ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह स्मृति अस्पतालमा १४४ जनशक्ति थपिनेछ भने चितवनको भरतपुर अस्पतालमा ४६५ जनशक्ति थपिनेछ। डडेलधुरा अस्पतालमा ५२ र औषधि व्यवस्था विभाग तथा प्रयोगशालामा गरी ४० जनशक्ति थप गरिनेछ।
मन्त्री पौडेलले प्रतिवेदन ग्रहण गर्दै सरकारी अस्पतालहरूमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन र चाप व्यवस्थापन गर्न जनशक्ति अभाव हटाउनु जरुरी रहेको बताए। “यसले दीर्घकालीन रूपमा स्थायी दरबन्दी कायम गर्न र करार तथा अस्थायी सेवामा रहेका जनशक्तिलाई व्यवस्थापन गर्न सहयोग पुर्याउनेछ,” मन्त्री पौडेलले भने।
२०६६ सालपछि पहिलोपटक यस्तो विस्तृत ओएन्डएम सर्वेक्षण भएको हो। मन्त्री पौडेलले यो वर्ष मात्र नभई अब हरेक वर्ष नियमित रूपमा जनशक्ति आवश्यकताको समीक्षा र पूर्ति गरिने नीति अनुसार अघि बढाइने स्पष्ट पारे।
स्वास्थ्य मन्त्रालयको यो पहलले सरकारी अस्पतालहरूको सेवा क्षमतामा उल्लेखनीय सुधार आउने र स्वास्थ्यकर्मीहरूलाई स्थायीत्वसहितको रोजगारीको अवसर मिल्ने अपेक्षा गरिएको छ।
