आज:  | Tue, 21, Apr, 2026

बहुदरमाईमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

Avatar photo दिशा निर्देश २६ जेष्ठ २०८२, आईतवार १८:४४ मा प्रकाशित (१0 महिना अघि)

वीरगन्ज, २५ जेठ – जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा आइतबार बहुदरमाई नगरपालिका–१ स्थित नगर सभाहलमा “नागरिक सुनुवाई कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रम प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा तथा नगरप्रमुख सिहासन साह तेलीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले सुरक्षाको अवस्था, सेवा प्रवाहको सहजता, प्रहरी प्रशासनको भूमिकालगायत विभिन्न विषयमा प्रश्न राखेका थिए। सो अवसरमा जिल्ला प्रहरी कार्यालय र नगरपालिकाका प्रतिनिधिहरूले नागरिकका जिज्ञासामा प्रत्यक्ष जवाफ दिएका थिए।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिक सुनुवाई कार्यक्रमलाई शासनप्रणालीप्रतिको जनविश्वास बढाउने माध्यमको रूपमा लिनुपर्ने बताए। “नागरिकका गुनासा र सरोकारको प्रत्यक्ष सुनुवाइ हुनु लोकतान्त्रिक शासनप्रणालीको बलियो आधार हो,” उनले भने, “यसबाट जनप्रतिनिधि, प्रशासन र नागरिकबीचको सम्बन्ध अझै मजबुत हुन्छ।”

त्यस्तै, प्रहरी उपरीक्षक गौतम मिश्रले शान्ति सुरक्षा कायम राख्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे। “समस्या पहिचान गर्न जनताबाट आउने सुझाव र गुनासोलाई गम्भीरतापूर्वक लिइन्छ,” उनले भने, “सुरक्षा निकाय मात्रले नभई सम्पूर्ण समुदायको सहकार्यले मात्रै सुरक्षित समाज निर्माण सम्भव छ।”

कार्यक्रममा नगर उप–प्रमुख शुष्मा कुमारी कुशवाहा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, विभिन्न वडाका अध्यक्षहरू, समाजसेवी, नागरिक समाजका प्रतिनिधिहरू, सञ्चारकर्मी, सरकारी तथा गैर–सरकारी संघसंस्थाका प्रतिनिधिहरू लगायत करिब १५० जनाको उल्लेखनीय सहभागिता रहेको थियो।


सम्बन्धित खबरहरु