आज:  | Tue, 21, Apr, 2026

बुटवलमा दर्ताविहीन ६ मेडिकल क्लिनिक बन्द

Avatar photo दिशा निर्देश २३ जेष्ठ २०८२, बिहीबार १८:४६ मा प्रकाशित (१0 महिना अघि)

बुटवल, जेठ २२ – रुपन्देहीको बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकहरूलाई आज जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बन्द गराएको छ।

बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकहरूमा गरिएको अनुगमनका क्रममा ६ क्लिनिक दर्ता विना सञ्चालनमा रहेको फेला परेपछि तालाबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए।

बन्द गरिएका क्लिनिकहरूमा बुटवल अस्पताल परिसरमा रहेको रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एण्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसीको कलेक्स प्रयोगशाला, वरदान क्लिनिक प्रालि र शिला मेडिकल हल क्लिनिक रहेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी रानाका अनुसार, अधिकांश मेडिकलले क्लिनिक सेवा प्रदान गर्दै आए पनि वैधानिक दर्ता नलिएको पाइएको छ। वरदान क्लिनिक लामो समयदेखि निःसन्तान उपचार सेवामा सक्रिय रहेको र अन्य क्लिनिकहरू पनि वर्षौंदेखि दर्ता विना सञ्चालनमा रहेको पुष्टि भएको छ।

अनुगमन कार्य स्वास्थ्य कार्यालय, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हित संरक्षण मञ्च र प्रहरीको सहभागितामा सम्पन्न भएको थियो।

प्रशासनले दर्ता प्रमाणपत्र पेश गरेपछि मात्र ती क्लिनिकहरूलाई पुनः सञ्चालन गर्न दिने बताउँदै, अन्यथा कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ। रानाका अनुसार दर्ता विना उपचार सेवा प्रवाह गर्ने विषयमा सम्बन्धित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।

रुपन्देही जिल्लामा हाल ५०० भन्दा बढी मेडिकल क्लिनिकहरू रहेको अनुमान गरिएको छ। पछिल्लो समय जनगुनासो बढेपछि प्रशासनले यस्ता क्लिनिकहरूको चरणबद्ध अनुगमन र कडाइका साथ नियमन गर्ने योजना बनाएको जनाएको छ।


सम्बन्धित खबरहरु