आज:  | Tue, 21, Apr, 2026

वीरगंजमा कर प्रशासन सुधार सम्बन्धी अन्तरक्रिया, स्पष्ट ऐन र करदातालाई सहुलियतको माग

Avatar photo दिशा निर्देश १९ जेष्ठ २०८२, आईतवार २०:१९ मा प्रकाशित (१0 महिना अघि)

वीरगंज, १८ जेठ ।वीरगंजमा कर प्रशासनलाई चुस्त, दुरुस्त र सहज बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश र समृद्धि फाउण्डेशनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा कर प्रणालीका विविध पक्षहरू, कानुनी अस्पष्टता र करदाताको हकहितका विषयमा गहन छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागी करदाताहरुले अन्तशुल्क करमा मनोपली रहेको, आयकर तथा मूल्य अभिवृद्धि कर ऐनमा अस्पष्ट भाषा प्रयोग भएकाले व्यवहारमा समस्या आएको गुनासो गरेका थिए । उनीहरूले कानुनमा “तोकेबमोजिम”, “सम्बन्धित व्यक्तिले भने बमोजिम” जस्ता अस्पष्ट शब्दले करदातालाई अन्यौलमा पार्ने भएकाले यस्ता शब्द हटाई स्पष्टता ल्याउनुपर्ने माग गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले सरकार परिवर्तनसँगै कानुन फेरिने प्रवृत्तिले व्यवसायीहरु अन्योलमा पर्ने बताउनुभयो । उहाँले राज्यका निकायहरूले कर सम्बन्धी सचेतना अभिवृद्धिका कार्यक्रम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा कर तिर्ने जागरूक करदातालाई वर्षमा केवल एकपटक प्रमाणपत्र दिने प्रथाले उनीहरूको मनोबल नबढ्ने भन्दै, यस्ता करदातालाई थप प्रोत्साहन र सहुलियत दिनुपर्ने सुझाव पनि राखिएको थियो । कार्यक्रममा समृद्धि फाउण्डेशनका निर्देशक दिपेन्द्र चौलागाईं र करविज्ञ केपी पाण्डेले सहजीकरण गरेका थिए ।

त्यस अवसरमा उच्च अदालत बार एशोसिएशनका अध्यक्ष तथा सदस्यहरू, वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिल अग्रवाल, बरिष्ठ उपाध्यक्ष माधब राजपाल, कोषाध्यक्ष अनोज रुंगटा, घरेलु तथा साना उद्योग कार्यालय मधेश प्रदेशकी यशोदा गजुरेल, उच्च अदालत बारकी लुना आचार्य, चार्टर्ड एकाउन्टेन्ट लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

कर प्रशासनलाई पारदर्शी, स्पष्ट र करदातामैत्री बनाउनका लागि सुझाव संकलन गर्न कार्यक्रम सञ्चालन गरिएको समृद्धि फाउण्डेशनका निर्देशक दिपेन्द्र चौलागाईले बताउनुभयो । उहाँकाअनुसार यो कार्यक्रम यसअघि कर्णालीको सुर्खेत, गण्डकीको पोखरामा सम्पन्न भइसकेको छ । यसपछि कोशीको बिराटनगरमा कार्यक्रम गर्ने कार्यतालिका रहेको उहाँले बताउनुभयो ।


सम्बन्धित खबरहरु