आज:  | Tue, 21, Apr, 2026

अस्पतालमा अन्धकार, आइसियुमा छटपटी ‘ज्यान जान सक्थ्यो’

Avatar photo दिशा निर्देश १९ जेष्ठ २०८२, आईतवार ११:२७ मा प्रकाशित (१0 महिना अघि)

आबिद हुसैन
वीरगंज । शुक्रबार राति वीरगञ्जको नारायणी अस्पतालको आइसियु र सिसियु कक्ष अन्धकारमा डुब्दा त्यहाँ उपचाररत बिरामीको सासै रोकिने स्थिति आयो । करिब तीन घण्टासम्मको विद्युत् अवरोधले १७ जना गम्भीर बिरामीहरूको जीवनलाई नै खतरा पु–यायो ।

राति १० बजेदेखि सुरु भएको विद्युत् कटौती राति १ बजेसम्म निरन्तर चलिरह्यो । यसबीचमा आइसियु–सिसियुमा प्रयोग हुने अति आवश्यक जीवनरक्षक उपकरणहरू पूर्ण रूपमा निष्क्रिय भए । ती उपकरणमा निर्भर रहेका बिरामी छटपटाउँदै थिए, कुरुवाहरू हतारिँदै सहयोग खोजिरहेका थिए, तर अस्पताल प्रशासन मौन थियो ।

“मोबाइलको टर्च बालेर बिरामीको सास चलिरहेको छ कि छैन, हेर्दै थियौँ,” एक कुरुवा भन्छन्, “हामीलाई लागेको थियो, आज रात यो अस्पतालमै हामी आफन्त गुमाउनेछौँ ।”

घटनाको बेलामा अस्पताल प्रमुख डा. चुमनलाल दास उपस्थित थिएनन् । जिम्मेवारी सम्हालिरहेका निमित्त मेसु डा. चित्तरञ्जन साहले अवस्था बुझ्नुअघि नै बिरामीलाई अन्य अस्पताल लैजान सुझाव दिएर पन्छिने कोसिस गरेको आरोप लागेको छ ।

स्थानीय सञ्चारकर्मी र मानवअधिकारकर्मीहरूले घटनास्थललाई “भयावह र अव्यवस्थित” भनेका छन् । आइसियु र सिसियुमा शान्तिपूर्वक उपचार चल्नु पर्ने बेलामा हातले पंखा हल्लाउँदै र टर्च बाल्दै बिरामीको स्याहार गर्नुपर्ने अवस्था देख्दा अस्पताल प्रशासनप्रति आक्रोश बढेको छ ।

अस्पतालको जेनरेटर बिग्रिएको अवस्थामा थियो । सर्ट सर्किटपछि उत्पन्न अन्धकारमा वैकल्पिक व्यवस्थाको कुनै तयारी नभएको खुलेको छ । “जेनरेटर भए पनि चल्न नसक्ने, ब्याकअप छैन, अनि आइसियु कसरी चल्छ ?” एक प्राविधिकले प्रश्न गरे ।

शनिबार बिहान प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी प्रमुख गौतम मिश्रले अस्पतालका प्रमुख पदाधिकारीहरूसँग संयुक्त बैठक गरे । प्रजिअ अर्यालको भनाइ थियो, “तीन घण्टा आइसियुमा बिजुली नहुनु सामान्य कुरा होइन । ज्यान गइसकेको भए जिम्मा कसले लिने ?”

उनले यस्ता गल्ती नदोहोरिने गरी व्यवस्थापनमा सुधार ल्याउन कडा निर्देशन दिए । प्रहरी प्रमुख मिश्रले सघन कक्षमा २४ घण्टा प्राविधिक र इलेक्ट्रिसियनको उपस्थिति अनिवार्य गरिनुपर्नेमा जोड दिए ।

अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले कमजोर वायरिङकै कारण सर्ट सर्किट भएको भन्दै समस्या समाधानका लागि प्रतिबद्धता जनाए । “दुई जना गम्भीर बिरामीलाई सार्ने तयारी गर्दा बिजुली फर्किएको हो,” उनले भने ।

तर, आलोचकहरूको भनाइमा यति संवेदनशील क्षेत्रमा ‘वैकल्पिक व्यवस्था समयमै नहुनु’ नै चरम लापरबाही हो ।

नारायणी अस्पताल आर्थिक रूपमा कमजोर वर्गका लागि जीवनरक्षक आशा हो । तर त्यही अस्पतालमा यति गम्भीर लापरबाही हुनु जनस्वास्थ्यमा राज्यको उदासीनता देखाउने प्रमाण बनेको छ ।

स्थानीय बासिन्दा, मानवअधिकारकर्मी तथा सरोकारवालाहरूले तत्काल निष्पक्ष छानबिन गर्न, जिम्मेवारमाथि कारबाही गर्न र आकस्मिक व्यवस्थालाई मजबुत बनाउन सरकारसँग माग गरेका छन् ।


सम्बन्धित खबरहरु