आज:  | Tue, 21, Apr, 2026

मेयर सिंहसँग चलचित्र पत्रकार संघ नेपाल पर्साको आग्रह: पर्यटन विकासमा सिनेमा जोडौं

Avatar photo दिशा निर्देश १७ जेष्ठ २०८२, शुक्रबार १४:२३ मा प्रकाशित (१0 महिना अघि)

वीरगञ्ज। चलचित्र पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै चलचित्र पत्रकार संघ नेपाल पर्साले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई औपचारिक प्रस्तावना पत्र बुझाएको छ।

शुक्रबार संघका अध्यक्ष सूर्यनारायण वि.क., उपाध्यक्ष आनन्द पटेल, सदस्यद्वय समिना रञ्जितकार र रश्मिराज भण्डारीले मेयर सिंहलाई भेटी उक्त पत्र बुझाएका हुन्। पत्रमा वीरगञ्जका पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गर्न चलचित्र संवाद, लेखन कार्यशाला र सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्न सकिने प्रस्ताव गरिएको छ।

संघले २०८२/८३ को आगामी आर्थिक वर्षको बजेट र नीति कार्यक्रममा चलचित्र क्षेत्रसँग जोडिएका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। यस्ता कार्यक्रमले न केवल पर्यटन प्रवर्द्धनमा योगदान पुग्नेछ, तर स्थानिय कलाकार, लेखक र सर्जकहरूलाई पनि प्रोत्साहन मिल्ने विश्वास संघले व्यक्त गरेको छ।

अध्यक्ष वि.क.ले चलचित्रमार्फत वीरगञ्जको सांस्कृतिक सम्पदा र पर्यटन सम्भावनाहरू उजागर गर्न सकिने बताए। “स्थानीय तहमै लेखन, संवाद र दृश्य–श्रव्य तालिमजस्ता कार्यक्रम सञ्चालन गरेर सिर्जनात्मक क्षमताको विकास गर्न सकिन्छ,” उनले भने।

महानगर प्रमुख सिंहले संघको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै चलचित्र पत्रकार संघ पर्सालाई आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “वीरगञ्जलाई कला, संस्कृति र पर्यटनको संगमस्थल बनाउने हाम्रो प्रयासमा तपाईंहरूको यो पहलले राम्रो सघाउ पुर्‍याउनेछ,” सिंहले उल्लेख गरे।


सम्बन्धित खबरहरु