वीरगञ्ज — सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खेलकुद क्षेत्रलाई अहिलेसम्मकै ठूलो प्राथमिकता दिँदै ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
बुधबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो बजेटबाट देशभरका प्रमुख खेल पूर्वाधारको निर्माण तथा स्तरोन्नति गरिने जानकारी दिए।
दमकमा अन्तर्राष्ट्रिय रंगशाला, हिमाली क्षेत्रमा हाइ अल्टिट्युड स्टेडियम
अर्थमन्त्री पौडेलका अनुसार झापाको दमकमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सबै खेल आयोजना गर्न सकिने आधुनिक रंगशाला निर्माण गरिनेछ। यसका साथै सोलुखुम्बु, मुस्ताङलगायतका हिमाली जिल्लाहरूमा उच्च भू-उचाइका (हाइ अल्टिट्युड) खेलकुद रंगशाला निर्माण गरिनेछ।
क्रिकेट मैदानहरूको स्तरोन्नतिमा विशेष ध्यान
त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ छुट्याइएको छ। त्यस्तै, मुलपानी, फाप्ला, सिद्धार्थनगर र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाहरूको स्तरोन्नतिका लागि कुल ४२ करोड रुपैयाँ विनियोजन गरिएको छ।
राष्ट्रिय खेलकुदका लागि ५४ करोड
सरकारले आगामी वर्ष सुर्खेतमा आयोजना गर्न लागिएको १०औं राष्ट्रिय खेलकुदका लागि ५४ करोड रुपैयाँ विनियोजन गरेको छ।
