आज:  | Tue, 21, Apr, 2026

आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड हुने

Avatar photo दिशा निर्देश १६ जेष्ठ २०८२, बिहीबार १७:५६ मा प्रकाशित (१0 महिना अघि)

वीरगञ्ज — सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ प्रस्ताव गरिएको छ।

बुधबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुल बजेटमध्ये ११ खर्ब ८० अर्ब ९८ करोड (६०.१ प्रतिशत) चालु खर्चका लागि, ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८ प्रतिशत) पुँजीगत खर्चका लागि र ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत) वित्तीय व्यवस्थापनका लागि विनियोजन गरिएको जानकारी दिए।

उनका अनुसार प्रस्तावित बजेट चालु आर्थिक वर्षको प्रारम्भिक अनुमानभन्दा ५.६ प्रतिशत र संशोधित अनुमानभन्दा १८.२ प्रतिशतले बढी हो।

राजस्वबाट १३ खर्ब बढी संकलनको लक्ष्य

अर्थमन्त्री पौडेलले आगामी वर्षका लागि कुल बजेट खर्चमध्ये १३ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक राजस्वबाट र ५३ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक अनुदानबाट जुटाउने सरकारको योजना रहेको उल्लेख गरे। बाँकी आवश्यक रकम आन्तरिक ऋणबाट व्यवस्थापन गरिने उनले स्पष्ट पारे।

तीन करोडभन्दा कम लागतका आयोजना प्रस्ताव नगरिने

बजेटमार्फत अर्थमन्त्री पौडेलले तीन करोड रुपैयाँभन्दा कम लागतका नयाँ आयोजना संघीय सरकारको तर्फबाट प्रस्ताव नगरिने नीति लिइएको बताए। आगामी वर्षको बजेट कार्यान्वयनबाट ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने सरकारको अपेक्षा रहेको उनले बताए।

चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको थियो। तर, सो बजेटलाई मध्यावधि समीक्षामार्फत ९.०१ प्रतिशतले घटाइएको थियो।


सम्बन्धित खबरहरु