आज:  | Tue, 21, Apr, 2026

मधेशमा उद्यमशीलता र स्टार्टअप विकासबारे वीरगंजमा भव्य सेमिनार सम्पन्न

Avatar photo दिशा निर्देश १४ जेष्ठ २०८२, मंगलवार १४:०६ मा प्रकाशित (१0 महिना अघि)

वीरगंज। उद्यमशीलता र स्टार्टअप इकोसिस्टमको सशक्त विकासका लागि वीरगंज पब्लिक कलेजको आयोजनामा तथा विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा “मधेश, नेपालमा उद्यमशीलता र स्टार्ट-अप इकोसिस्टम विकास” विषयक एकदिने भव्य सेमिनार सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि मधेश विश्वविद्यालयका प्राध्यापक डा. दिपक शाक्यले नेपाल विशेषगरी मधेश प्रदेशमा नवीनतम सोच, प्रविधि र स्थानीय स्रोतको सदुपयोगमार्फत उद्यमशीलतालाई संस्थागत विकासको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले युवाहरुलाई नवाचारमा आधारित स्टार्टअप सञ्चालन गर्न प्रेरणा दिने खालका नीतिगत र शैक्षिक सहकार्य आवश्यक रहेको बताउनुभयो।
नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले मधेशमा प्रचुर सम्भावना भएको उद्यमशीलताको क्षेत्रमा युवाहरुलाई लक्षित कार्यक्रम र नीतिगत सहजीकरणको खाँचो औंल्याउँदै यस्ता सेमिनारहरूले जागरण र प्रेरणा दिने काम गर्ने बताए। उहाँले शिक्षालाई व्यावसायिक सोचसँग जोड्न सक्ने संस्थागत प्रयासहरू अपरिहार्य रहेको धारणा राख्नुभयो।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले मधेश प्रदेशमा उद्यमशीलताको सम्भावना अपार रहेको बताउँदै, शिक्षित युवाहरुलाई स्टार्टअप संस्कृति तर्फ आकर्षित गर्न शैक्षिक संस्थाहरू, नीति निर्माता र उद्योग क्षेत्रको समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष निरज अग्रवाल तथा (NYEF) का अध्यक्ष पंकज अग्रवाल लगायतले मधेशको औद्योगिक भविष्य र युवा व्यवसायिक क्षमताबारे धारणा राखेका थिए ।

सेमिनारको स्वागत मन्तव्य वीरगंज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठले प्रस्तुत गर्नुभयो। उहाँले यस्तो प्रकारका शैक्षिक तथा व्यावसायिक विमर्शहरुले विद्यार्थी र युवाहरुलाई भविष्यमा आत्मनिर्भर तथा नवप्रवर्तनशील उद्यमी बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यार्थी, शिक्षक, युवा व्यवसायी तथा सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो।


सम्बन्धित खबरहरु