आज:  | Tue, 21, Apr, 2026

वीरगञ्ज सुक्खाबन्दरगाह भन्सारबाट १० महिनामा ४१ अर्बभन्दा बढी राजस्व सङ्कलन

Avatar photo दिशा निर्देश १४ जेष्ठ २०८२, मंगलवार १०:१७ मा प्रकाशित (१0 महिना अघि)

वीरगञ्ज — सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो १० महिनामा कुल ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो सङ्ख्या भन्सार विभागले निर्धारण गरेको वार्षिक लक्ष्यको ६८.५८ प्रतिशत हो।

कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालका अनुसार, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४० अर्ब ३ करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने चालु वर्षको सोही अवधिमा २.८५ प्रतिशतले वृद्धि भई १ अर्ब १४ करोड २८ लाख रुपैयाँ बढी राजस्व उठेको हो।

कार्यालयले साउन महिनामा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा ४ अर्ब ३६ करोड, कात्तिकमा ३ अर्ब ७९ करोड, मङ्सिरमा ३ अर्ब २२ करोड, पुसमा ३ अर्ब ५६ करोड, माघमा ४ अर्ब २९ करोड, फागुनमा ४ अर्ब ६८ करोड, चैतमा ४ अर्ब ५० करोड र वैशाखमा ४ अर्ब ३४ करोड ५२ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

भन्सार विभागले वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई चालु आर्थिक वर्षभरिमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो।


सम्बन्धित खबरहरु