रौतहट, १२ जेठ।सर्लाहीमा प्रहरीले १५ लाख रुपैयाँ बराबरको सुनचाँदीका गरगहना र नगदसहित भारतीय नम्बर प्लेटको स्कर्पियो गाडी बरामद गरेको छ।
नेपाल–भारत सीमावर्ती क्षेत्रबाट भित्रिएको बीआर ३० एके ७२२० नम्बरको स्कर्पियो गाडीमा विभिन्न किसिमका गरगहना फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सार्वजनिक गरेको हो। बरामद सामग्री र गाडी आइतबार साँझ सर्लाहीको मलंगवा स्थित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
गत जेठ ७ गते बिहान साढे ९ बजे लालबन्दी नगरपालिका–१ अन्तर्गत पूर्व–पश्चिम लोकमार्गमा गस्तीमा खटिएको ट्राफिक प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त स्कर्पियोलाई चेकजाँचका लागि रोकेको थियो।
जाँचका क्रममा चालकले मदिरा सेवन गरेको पाइएपछि ट्राफिक प्रहरीले अर्को चालक बोलाई आवश्यक कागजात लिएर आउन जानकारी गराएको थियो। तर चालकसहित चार जना व्यक्ति गाडी त्यहीँ छाडेर फरार भएका थिए।
प्रहरीको टोलीले लामो समयसम्म उनीहरू फर्किएनन् भनेर शंका जनाउँदै इलाका प्रहरी कार्यालय लालबन्दीबाट थप टोली बोलाई जनप्रतिनिधिहरूको रोहवरमा सवारीको खानतलासी गरेको थियो।
खानतलासीका क्रममा गाडीको इन्जिनको अगाडिको भागमा प्लास्टिकले बेरेको जेब्रा झोलाभित्र गम्छामा बेरेका सुनचाँदीका गरगहना तथा गाडीको अन्य भागमा लुकाइ राखिएको चाँदी र नगद समेत फेला परेको डिएसपी सरोज राईले जानकारी दिए। बरामद सामग्रीको अनुमानित मूल्य करिब १५ लाख रुपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ।
