आज:  | Tue, 21, Apr, 2026

चितवनमा नेपालमै पहिलोपटक ‘मायस्थेनिया ग्राभिस’ रोगको अत्याधुनिक शल्यक्रिया सफल

Avatar photo दिशा निर्देश १३ जेष्ठ २०८२, सोमबार ०८:४६ मा प्रकाशित (११ महिना अघि)

चितवन, जेठ ११ – बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा नेपालमै पहिलोपटक ‘मायस्थेनिया ग्राभिस’ रोगको अत्याधुनिक प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ।

दाङकी २२ वर्षीया एक महिलाको यही जेठ ८ गते पेटमा सानो चिरा पारेर दूरबिन प्रविधिबाट सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। शल्यक्रिया सम्पन्न भइसकेपछि आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिइएको हो।

वरिष्ठ अंकोलोजिस्ट तथा थोरासिक एण्ड ल्याप्रोस्कोपिक सर्जन डा. विनय ठाकुरको नेतृत्वमा शल्यक्रिया गरिएको थियो। डा. ठाकुरका अनुसार यसपटक परम्परागत शैलीमा जस्तै धेरै चिरा नपारी र श्वासप्रश्वास नलीमा पाइप नराखी, पेटमा केवल एउटा प्वाल बनाइ शल्यक्रिया सम्पन्न गरिएको हो।

“पहिले यस्ता शल्यक्रियामा तीन–चारवटा चिरा पारिन्थ्यो र भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउँथ्यो,” डा. ठाकुरले भने, “तर, यसपटक मसल रिल्याक्सिङ औषधि प्रयोग नगरी आधारभूत एनेस्थेसिया दिएर स्वाभाविक रूपमा बिरामीको श्वासप्रश्वास कायम राख्दै शल्यक्रिया सम्पन्न गरियो।”

यो रोग विशेषगरी २५ वर्षमुनिका युवा र ६० वर्षभन्दा माथिका वृद्धवृद्धामा देखिने गर्दछ। डा. ठाकुरका अनुसार विश्वभर वार्षिक एक लाख जनामा एकजनामा मात्र यो रोग देखिने गर्छ।

शल्यक्रियामा संलग्न एनेस्थेसियोलोजिस्ट डा. रेश्मी थापाका अनुसार, ‘नन इन्टुवेटेड’ प्रविधि अपनाइएको थियो। उनले भनिन्, “यस प्रविधिबाट बिरामीलाई श्वासप्रश्वास नलीमा पाइप नराखीकन बेहोस बनाई उपचार गरिन्छ, जसले जोखिम न्यून हुन्छ।”

कार्यकारी निर्देशक डा. शिवजी पौडेलले चिनियाँ सरकारको सहयोगमा प्राप्त उपकरण प्रयोग गरिएको जानकारी गराउँदै यो शल्यक्रिया देशकै लागि महत्वपूर्ण उपलब्धि भएको बताए। अस्पतालका अध्यक्ष डा. विजय न्यौपानेले यस शल्यक्रियालाई सर्जरी तथा एनेस्थेसिया दुवै क्षेत्रको मिलेको सफलता बताए।

यस शल्यक्रियाबाट नेपालको चिकित्सा क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोग र जोखिमयुक्त उपचारमा समेत सफलता प्राप्त हुन सक्ने सम्भावनाले नयाँ ढोका खुलेको विश्लेषण गरिएको छ।


सम्बन्धित खबरहरु