आज:  | Tue, 21, Apr, 2026

खानेपानी तथा सरसफाइ सुधारमा दलहरूबीच सहकार्य खोज्दै मन्त्री यादव

Avatar photo दिशा निर्देश १३ जेष्ठ २०८२, सोमबार ०८:४२ मा प्रकाशित (११ महिना अघि)

वीरगञ्ज, जेठ ११ – खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा सुधार ल्याउन खानेपानी मन्त्री प्रदीप यादवले राजनीतिक दलहरूसँग प्रत्यक्ष प्रतिबद्धता खोजेका छन्। उनले खानेपानी र सरसफाइ (WASH) क्षेत्रलाई राजनीतिक प्राथमिकताको विषय बनाउँदै दिगो विकास लक्ष्य (SDG) प्राप्तिको लागि आवश्यक पहल गर्न सबै दलसँग सहकार्यको आग्रह गरेका हुन्।

मन्त्री यादवले सबै प्रमुख दलहरूलाई पत्राचार गर्दै मन्त्रिपरिषद् र संसदमार्फत वास क्षेत्रलाई प्राथमिक एजेन्डामा राख्न, सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको नेतृत्वमा क्षेत्रीय बैठक आयोजना गर्न तथा जलवायु अनुकूल र समावेशी सरसफाइ सेवा विकास गर्न रणनीति निर्माणको प्रस्ताव अघि सारेका छन्।

उनले खानेपानी तथा सरसफाइ मन्त्रालय गठनको पहल गर्ने, सामुदायिक खानेपानी प्रणालीमा लाग्ने कर खारेज गर्ने, र मेलम्ची खानेपानीको सेवा चन्द्रागिरि नगरपालिकासम्म विस्तार गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

मन्त्री यादवले भने, “नागरिकको जीवनस्तर सुधार र एसडीजी प्राप्तिका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रलाई अब राजनीतिक प्राथमिकताको विषय बनाउन आवश्यक छ। यस क्षेत्रमा लगानी र नीतिगत प्रतिबद्धता बढाइनु पर्ने देखिन्छ।”

स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता र समावेशी विकासमा प्रत्यक्ष प्रभाव पार्ने वास क्षेत्रको दीर्घकालीन सुधारबिना समृद्ध नेपालको सपना अपुरो रहने उनले बताए।

खानेपानी र सरसफाइको क्षेत्रमा अझै पनि हजारौं नेपाली खुला दिशामुक्त हुन नसकेको तथा करिब १५ प्रतिशत जनसंख्या अझै पनि सुरक्षित खानेपानी सेवाबाट बञ्चित रहेको उल्लेख गर्दै मन्त्री यादवले यस विषयलाई राष्ट्र निर्माणकै मूल एजेन्डा बनाउनुपर्ने बताए।

तीनै तहका सरकारबाट सञ्चालन हुने आयोजना र कार्यक्रम कार्यान्वयनमा दोहोरोपन, समन्वयको अभाव, अपर्याप्त वित्तपोषण र कमजोर वित्तीय व्यवस्थापनजस्ता चुनौती समाधान गर्न पनि राजनीतिक इच्छाशक्ति र सहकार्य अपरिहार्य भएको उनको भनाइ छ।

यिनै उद्देश्यका साथ खानेपानी मन्त्रालयको आयोजनामा २०८१ पुस २७ गते ‘राजनीतिक संवाद तथा क्षेत्रगत रणनीति’ विषयक कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रममा संघ, प्रदेश तथा स्थानीय तहका १५३ जना नेतृत्ववर्गको सहभागिता रहेको थियो। कार्यक्रममा सामूहिक छलफल (प्यानल डिस्कसन) समेत गरिएको थियो।

मन्त्री यादवले नेपालको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा सन् २०३० सम्म सबै नागरिकलाई सुरक्षित सेवा उपलब्ध गराउने लक्ष्य, राष्ट्रिय नीति २०८०, १६औँ आवधिक योजना, र दिगो विकास लक्ष्य (SDG) जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धता हासिल गर्न राजनीतिक तहबाट थप सक्रियता आवश्यक रहेको बताए।


सम्बन्धित खबरहरु