वीरगन्ज ११, जेठ। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले पदभार ग्रहणलगत्तै तीन जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेका छन्।
डा. गुणाकर भट्ट, डा. रामशरण खरेल र विश्रुत थापाको जिम्मेवारीमा परिवर्तन गरिएको राष्ट्र बैंकका सूचना अधिकारी भागवत आचार्यले जानकारी दिएका छन्।
गभर्नर दौडमा नेपाली कांग्रेसको सिफारिसमा अघि सारिएका डा. भट्टले यसअघि राष्ट्र बैंकको अनुसन्धान विभागको नेतृत्व गरिरहेका थिए। तर, आफू गभर्नर बन्ने तयारीस्वरूप उनले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए।
उनको राजीनामा कामु गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले अस्वीकृत गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टलाई गभर्नर नियुक्त गर्न अस्वीकार गरेका थिए। त्यसपछि कांग्रेसकै अर्का उम्मेदवार पौडेल गभर्नर नियुक्त भएका थिए।
भट्टको राजीनामापछि अनुसन्धान विभाग नेतृत्वविहीन बनेको थियो। गभर्नर पौडेलले पुनः डा. भट्टलाई गभर्नरको कार्यालयमा सरुवा गरेका छन् भने अनुसन्धान विभागको जिम्मेवारी डा. रामशरण खरेललाई दिइएको छ।
यसैगरी, बैंकिङ कार्यालयमा कार्यरत कार्यकारी निर्देशक विश्रुत थापालाई जनशक्ति व्यवस्थापन शाखामा पठाइएको छ।
सूचना अधिकारी आचार्यका अनुसार डा. भट्टको राजीनामा स्वीकृत नभईकनै जिम्मेवारी हेरफेर गरिएको हो। राष्ट्र बैंकमा भट्टको सेवा अवधि आगामी असोज १७ गतेसम्म रहनेछ।
