काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित प्रकाशन सामग्रीहरूको तयारी अन्तिम चरणमा पुगेको छ।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आर्थिक सर्वेक्षण, संस्थानहरूको प्रगति विवरण, मन्त्रालयगत प्रगति विवरण तथा प्राविधिक सहायता परिचालनसम्बन्धी विवरणको मस्यौदा तयार भइसकेको छ र छपाइको अन्तिम तयारीमा रहेको छ।
त्यसैगरी, आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरिने बजेट वक्तव्यसँगै व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, तथा ऋण तथा जमानत विधेयक लगायतका कानुनी दस्तावेजहरू पनि तयारीको अन्तिम चरणमा पुगेका छन्।
यसअघि अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सिद्धान्त तथा प्राथमिकता (BSP) संसद्मा प्रस्तुत गरिसकेको छ।
सरकारले जेठ १५ गते संघीय संसद्मा आगामी वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरिरहेकै बेला प्रकाशन सामग्रीहरू अन्तिमरुपमा सम्पादन तथा मुद्रण प्रक्रियामा छन्।
