वीरगन्ज । नेपाल इनोभेटिभ सोसाइटीको आयोजनामा र वीरगन्ज नर्सिङ क्याम्पसको सहकार्यमा आज एक दिने प्रेरणात्मक (मोटिभेसनल) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा दुईजना प्रमुख वक्ता—डा. निरज कुमार सिंह र डा. प्रीति यादव—ले नर्सिङ विद्यार्थीहरूलाई जीवनोपयोगी र मार्गदर्शन दिने विषयमा विशेष प्रस्तुति दिएका थिए।
‘जीवन र त्यो एक घण्टा’ शीर्षकमा मन्तव्य दिँदै डा. निरज कुमार सिंहले समयको सही सदुपयोग र उद्देश्यपूर्ण जीवनयापनको महत्त्वलाई जोड दिए। उहाँले भन्नुभयो, “हरेक दिनको एउटा घण्टा आफूलाई दिने बानी बसाल्न सकियो भने, त्यो सानो प्रयासले दीर्घकालीन जीवनलाई सकारात्मक मोडमा लैजान सक्छ। लक्ष्यविहीन जीवन दिशाहीन यात्रा जस्तै हो।”
त्यस्तै, ‘सकारात्मक मानसिक स्वास्थ्य जागरूकता’ शीर्षकमा डा. प्रीति यादवले विद्यार्थीहरूमा मानसिक स्वास्थ्यप्रति सजगता अभिवृद्धि गर्ने उद्देश्यले आफ्नो विचार प्रस्तुत गरिन्। उहाँको भनाइ थियो, “मानसिक स्वास्थ्य कमजोर हुँदा जीवनका अरु पक्षहरूमा प्रभाव पर्छ। सकारात्मक सोच, आत्मस्वीकृति र नियमित संवादले मानसिक स्वास्थ्य मजबुत बनाउन सकिन्छ।”
यी प्रस्तुतीहरूले विद्यार्थीहरूलाई व्यक्तिगत, शैक्षिक र व्यावसायिक जीवनबीच सन्तुलन कायम गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।
कार्यक्रमकी प्रमुख अतिथि तथा वीरगन्ज नर्सिङ क्याम्पसकी प्रमुख डा. कल्पना पौडेलले स्वास्थ्यकर्मीहरूका लागि प्रेरणा र मानसिक स्वास्थ्यको महत्त्वबारे प्रकाश पार्दै यस्ता तालिमले विद्यार्थीहरूको आत्मबल र कार्यक्षमतामा वृद्धि हुने बताइन्।
नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष श्री कमल चौगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई वीरगन्ज महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष जगत प्रसाद साह कानु, वडा प्रहरी कार्यालय विर्ताका इन्स्पेक्टर निरोज चौलागाई, समाजसेवी ऋषिराज सत्याल, विजय कुमार बल, डा. स्वाति गुप्ता, र वीरगन्ज नर्सिङ क्याम्पसकी विभाग प्रमुख सबिना अधिकारीलगायत अतिथिहरूले सम्बोधन गरेका थिए।
कार्यक्रमको समापनमा अध्यक्ष चौगाईले उपस्थित सम्पूर्ण अतिथि, वक्ता र सहभागीहरूलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। वीरगन्ज नर्सिङ क्याम्पसको प्रांगणमा आयोजित कार्यक्रममा करिब १०० जना नर्सिङ विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
