जेठ ११, बारा – लाइनमा घण्टौँ कुर्नुपर्ने, झन्झटिलो प्रक्रिया र कागजपत्रको भारी थाक—अहिले यी दृश्य कलैया यातायात व्यवस्था कार्यालयमा विरलै देखिन्छन्। सेवा प्रवाहमा देखिएको सुधारसँगै कार्यालयको राजस्व संकलन समेत उल्लेखनीय रूपमा बढेको छ।
पछिल्ला आठ महिनामा (साउन १ देखि जेठ ६ सम्म) कार्यालयले कुल ८ करोड २१ लाख ७० हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख अविन्दर दासका अनुसार सेवा प्रणालीमा पारदर्शिता र प्रविधिको प्रभावकारी प्रयोगले सेवा सरल र भरपर्दो बनेको छ, जसको प्रत्यक्ष प्रभाव राजस्वमा देखिएको हो।
सवारी कर शीर्षकमा मात्रै ३ करोड ८३ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ। त्यसपछि ‘अनुमति पत्र पास (नयाँ)’ शीर्षकमा १ करोड ७९ लाख ६५ हजार, ‘अनुमति पत्र दर्ता (नयाँ)’मा ८३ लाख ७६ हजार र ‘पटके’ शीर्षकमा ३९ लाख ९२ हजार ४० रुपैयाँ राजस्व उठेको छ।
त्यस्तै ‘दर्ता (थप)’ बाट ३३ लाख ६२ हजार र ‘नवीकरण’ शीर्षकमा २७ लाख १६ हजार रुपैयाँ आम्दानी भएको कार्यालयले जनाएको छ। अन्य विविध शीर्षकबाट पनि उल्लेख्य राजस्व संकलन भएको छ।
माघ ८ गतेदेखि कार्यभार सम्हालेका प्रमुख दास भन्छन्, “डिजिटल माध्यमको प्रभावकारी उपयोग, पारदर्शी प्रणाली र कर्मचारी उत्तरदायित्वमा जोड दिँदा सेवाग्राहीको विश्वास बढेको छ। त्यसकै नतिजा हो—राजस्वमा आएको यो सुधार।”
उनका अनुसार आफ्नो कार्यकालपछि कार्यालयको मासिक औसत राजस्व संकलन ६१ लाख रुपैयाँले वृद्धि भएको छ। अनलाइनबाट अनुमति पत्रका लागि आवेदन दिने, कर तिर्ने सुविधा र स्पष्ट सूचना प्रणालीले सेवाग्राहीलाई सहज बनाएको छ।
यो सुधार केवल कार्यालयको सफलता मात्र होइन, प्रदेश सरकारको सेवा सुधार प्रयासको सकारात्मक परिणाम पनि हो। अबको प्रमुख चुनौती भनेको—यस सुधारलाई दीगो बनाउँदै अझ प्रविधिमैत्री बनाउने हो।
