आज:  | Tue, 21, Apr, 2026

मधेस प्रदेशमा ९ महिनामा निर्जीवन बीमाबाट दुई अर्बभन्दा बढी बीमा शुल्क संकलन

Avatar photo दिशा निर्देश १२ जेष्ठ २०८२, आईतवार ०८:०१ मा प्रकाशित (११ महिना अघि)

वीरगञ्ज — नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा निर्जीवन बीमा तर्फ दुई अर्ब १५ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। यस अवधिमा निर्जीवन बीमाको दुई लाख ५९ हजार ४७५ वटा बीमा लेख जारी गरिएको छ।

प्राधिकरणका अनुसार, सोही अवधिमा सात हजार १२४ जनाले निर्जीवन बीमा अन्तर्गत एक अर्ब ६० करोड २६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी माग गरेका थिए। तीमध्ये पाँच हजार ५८५ जनालाई कुल एक अर्ब आठ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको छ।

मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले बीमा सम्बन्धी जनचेतना न्यून भएकाले सर्वसाधारणको सहभागिता अपेक्षाकृत रूपमा नबढेको बताइन्।

कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बीमातर्फ ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। यस अवधिमा जीवन बीमाका ८६ हजार ६७० बीमालेख जारी भएका छन्।

जीवन बीमा शुल्क संकलनमा मधेस प्रदेशको हिस्सा ९.२४ प्रतिशत रहेको छ। चैत महिनासम्म जीवन बीमातर्फ १७ हजार २६८ बीमालेखबाट दुई अर्ब ५४ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरिएको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षभरिमा भने जीवन बीमा दाबी भुक्तानीको संख्या २१ हजार ९०४ पुग्दा भुक्तानी रकम दुई अर्ब ८७ करोड ७४ लाख रुपैयाँ रहेको थियो।


सम्बन्धित खबरहरु