बिरगञ्ज, पर्सा — इस्लाम धर्ममा पाँचवटा मूल स्तम्भमध्ये एक मानिने पवित्र हज यात्राका लागि नेपालभरिबाट १ हजार १ सय ७१ जना मुस्लिम धर्मावलम्बी साउदी अरेबियाको मक्का–मदिना प्रस्थान गर्दैछन्। त्यसैअनुसार, बिरगञ्ज महानगरपालिकाबाट १४० जना हज यात्रुहरूलाई नगरका उप–प्रमुख इम्तियाज आलमले विशेष कार्यक्रमकाबीच बिदाई गरेका छन्।
उप–प्रमुख आलमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर तीर्थयात्रीहरूलाई खादा, माला र गम्छा लगाई सम्मान गर्दै सफल, सुरक्षित र फलदायी हज यात्राको शुभकामना व्यक्त गरेका थिए। उनले भने, “हजका लागि जाने हाजीहरूलाई मेरो तर्फबाट आस्थापूर्ण बिदाई छ। यो यात्रा तिर्थ, आस्था र मानवताको प्रेरणादायी बन्न सकोस् भन्ने कामना गर्दछु।”
उनले सम्पूर्ण नेपाली मुस्लिम समुदायका हाजीहरूलाई अल्लाहले हज कबुल गरून् भन्ने कामनासमेत गरेका छन्।
बिदाई कार्यक्रममा बिरगञ्ज महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रेयाज मिया, नेपाली कांग्रेस वडा नं. २ का बुथ सभापति फिरोज आलमलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका बारेमा जानकारी दिँदै उप–प्रमुखका प्रेस सल्लाहकार महमद सदाबले हज यात्रुहरूको बिदाईलाई भव्य र भावनात्मक बनाइएको बताए।
हज इस्लाम धर्मावलम्बीहरूको जीवनमा एकपटक अनिवार्य रूपमा गर्ने मानिने धार्मिक कर्तव्य हो, जुन केवल आर्थिक र शारीरिक रूपमा सक्षम मुस्लिमहरूका लागि फर्ज मानिन्छ। विश्वभरबाट हरेक वर्ष करोडौं मुस्लिम मक्का–मदिना पुगेर हज गर्ने गर्दछन्। नेपालमा हज यात्राको व्यवस्थापन जिल्ला हज समिति र केन्द्रिय हज समितिको समन्वयमा हुँदै आएको छ।
