आज:  | Tue, 21, Apr, 2026

डा. विश्वनाथ पौडेलले लिए गभर्नर पदको जिम्मेवारी, नयाँ नोट छपाइको निर्णयमा हस्ताक्षर

Avatar photo दिशा निर्देश ८ जेष्ठ २०८२, बुधबार १६:३३ मा प्रकाशित (११ महिना अघि)

काठमाडौं — नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार पदभार ग्रहण गरेका छन्।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएपछि उनले बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन्।

पदभार ग्रहण समारोहमा गभर्नर पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी मौद्रिक नीति तर्जुमा गरिने जानकारी दिए। मुलुकको आर्थिक गतिविधि सशक्त बनाउने उद्देश्यले सबै सरोकारवाला निकायसँग समन्वय गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए।

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा बैंकको आन्तरिक विषय भएको उल्लेख गर्दै गभर्नर पौडेलले त्यसबारे निर्णय प्रक्रिया आफ्नो स्थानमा रहने स्पष्ट पारे।

गभर्नर पौडेलले पदभार ग्रहणलगत्तै पाँच सय र एक हजार रुपैयाँ दरका नयाँ नोट छपाइसम्बन्धी निर्णयमा हस्ताक्षर पनि गरेका छन्।

सरकारले मंगलबार राष्ट्र बैंकको गभर्नरमा डा. पौडेललाई नियुक्त गरेको थियो।


सम्बन्धित खबरहरु