काठमाडौँ — गाजा क्षेत्रमा हालसम्म कुनै पनि मानवीय सहायता सामग्री वितरण हुन नसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
गाजा नाकाबन्दीको ११ हप्तापछि केही सहायता ट्रकहरू सीमा पार गर्न थालेको भए पनि ती सामग्री गाजाका नागरिकसम्म पुग्न सकेका छैनन्।
संयुक्त राष्ट्रसङ्घका अनुसार, इजरायलले पछिल्लो आइतवार केही मात्रामा खाद्यान्न गाजामा प्रवेश गर्न दिने सहमति जनाए पनि सहमतिअनुसार सहायता वितरणको प्रक्रिया अझै अघि बढ्न सकेको छैन।
इजरायली अधिकारीहरूका अनुसार, हिजो मात्रै ९३ वटा सहायता ट्रक गाजामा प्रवेश गरेका थिए। ती ट्रकहरूमा आटा, शिशुका लागि पोषणयुक्त खाना, औषधि तथा स्वास्थ्य सामग्रीहरू थिए, भनी बीबीसीले उल्लेख गरेको छ।
तर, संयुक्त राष्ट्रसङ्घले भने सहायता सामग्री नागरिकहरूसम्म पुर्याउन अझै सम्भव नभएको जनाएको छ।
गाजामा फैलँदो भोकमरी र मानवीय संकटप्रति विश्वव्यापी रूपमा चासो बढिरहेको छ। अन्तर्राष्ट्रिय विज्ञहरूले इजरायललाई सहायता आपूर्तिमा अवरोध नगर्न दबाब दिइरहेका छन्। तर, इजरायलले यस्तो कुनै दबाब स्वीकार नगरेको राष्ट्रसङ्घको आरोप छ।
संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायहरूका अनुसार गाजामा दीर्घकालीन मानवीय संकटलाई सम्बोधन गर्न दैनिक ६ सय ट्रक आवश्यक पर्छ।
राष्ट्रसङ्घले चेतावनी दिएको छ कि यदि चाँडै खाद्यान्न वितरण सुरू गर्न नसकिएमा गाजामा १४ हजार शिशुको ज्यान जाने खतरा रहेको छ।
