वीरगंज, ६ जेठ – वीरगंज आसपासका सीमावर्ती क्षेत्रमा तस्करी तथा अवैध कारोबार नियन्त्रण गर्न आठ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ।
स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको निर्णयअनुसार सोमबार छपकैया, सिर्सिया, बलिरामपुर र अलौँलगायतका क्षेत्रमा दुई–दुईवटा सिसी क्यामेरा राखिएको हो।
जडान कार्यमा वीरगञ्ज भन्सार कार्यालयका कर्मचारी र सुरक्षाकर्मी सहभागी थिए। तर, आइतबार जडानको प्रयास अवरोध भएपछि समितिको संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको नेतृत्वमा सोमबार टोली पुनः पुगेको थियो।
प्रजिअ अर्यालका अनुसार चोरी निकासी तथा पैठारीका सम्भावित नाकाहरू पहिचान गरी निगरानी बढाउने उद्देश्यसहित क्यामेरा जडान गरिएको हो। “सिसी क्यामेरा जडानपछि तस्करीमा संलग्न हुनेहरूलाई निरुत्साहित गर्न सहयोग पुग्नेछ,” उनले भने, “मनोवैज्ञानिक रूपमा समेत यसले दबाब सिर्जना गर्नेछ।”
अर्यालले भन्सार छली गरेर सामान भित्र्याउनेहरूले सुरक्षाकर्मीमाथि गर्ने दुव्र्यवहारसमेत सिसी क्यामेराबाट निगरानीमा आउने भएकाले कारबाहीको आधारसमेत तयार हुने बताए।
भन्सार कार्यालय प्रमुख दीपक लामिछानेका अनुसार पहिलो चरणमा कार्यालयकै आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरी क्यामेरा जडान गरिएको हो। “जोखिमयुक्त र तस्करी प्रवृत्ति देखिएका क्षेत्रलाई प्राथमिकतामा राखेर निगरानी विस्तार गर्दै लैजाने योजना छ,” उनले जानकारी दिए।
उनका अनुसार पर्सा र बाराका छोटी भन्सार, अन्य नाका तथा संवेदनशील क्षेत्रमा पनि क्रमशः सिसी क्यामेरा जडान गरिनेछ।
