आज:  | Tue, 21, Apr, 2026

तुलसीपुर उपमहानगरको टोलीद्वारा वीरगंज महानगरको अध्ययन भ्रमण

Avatar photo दिशा निर्देश ६ जेष्ठ २०८२, सोमबार १८:०२ मा प्रकाशित (११ महिना अघि)

वीरगंज ५ जेठ ; तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले वीरगंज महानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक इम्तियाज आलमसँग न्यायिक समितिमा परेका मुद्दा तथा मेलमिलाप प्रक्रियासम्बन्धी अनुभव आदानप्रदान गरेको छ।

भेटका क्रममा वीरगंज महानगरपालिकाभित्र न्यायिक समितिले गर्दै आएको कार्य, समितिको संरचना तथा प्रभावकारी कार्यान्वयनका पक्षमा तुलसीपुर उपमहानगरको टोलीले चासो राखेको थियो। साथै, ‘उज्यालो वीरगंज, सफा वीरगंज’ अभियानको अवधारणाबारे पनि विस्तृत छलफल भएको थियो।

कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले तुलसीपुर उपमहानगरपालिकाको अवस्थाबारे संक्षिप्त जानकारी दिँदै दुवै महानगरबीचको आपसी सहकार्य र सिकाइको आवश्यकता औंल्याउनु भयो। उपप्रमुख आलमले वीरगंजलाई पर्यटकीय नगरीका रूपमा विकास गर्न महानगरले लिएको योजनाबारे जानकारी गराउँदै मठ–मन्दिर, गुम्बा, चिडियाखाना तथा पार्कहरूको सौन्दर्यीकरण कार्य तीव्र गतिमा अघि बढिरहेको बताउनुभयो। केही संरचनाहरूको डिपिआर (DPR) तयार भइसकेको र छिट्टै कार्यान्वयनमा जाने जानकारी पनि उहाँले दिनुभयो।

न्यायिक समितिका कामबारे उपप्रमुख आलमले समितिले प्राप्त उजुरीहरूलाई समयमै मेलमिलाप प्रक्रियाबाट समाधान गर्दै आएको बताउँदै समितिको कार्यसम्पादन प्रभावकारी रहेको उल्लेख गर्नुभयो।

उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका न्यायिक समिति सदस्य देवी पोख्रेल, लालमति भण्डारी, वीरगंज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख प्रतिज्ञा वैठा, सामान्य प्रशासन महाशाखा प्रमुख सुनिल कर्ण, न्यायिक समितिका उजुरी प्रशासक धनबहादुर थापा लगायतको उपस्थिति रहेको उपप्रमुख आलमका प्रेस सल्लाहकार मोहम्मद सदाबले जानकारी दिनुभयो।


सम्बन्धित खबरहरु