वीरगंज ४ जेष्ठ —खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्ज महानगरपालिका–१८ सुक्चैना र वडा नं. २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा उल्लेखनीय सुधार हुने बताएका छन्।
आइतबार वीरगन्ज–२१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडकखण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री यादवले भने,
“निर्माण सम्पन्न भएपछि वर्षात्को समयमा यहाँ हुने पानी जम्ने समस्या पूर्ण रूपमा समाधान हुनेछ। साथै स्थानीय आवागमनमा समेत सहजता आउनेछ।”
उनले विकास निर्माणका काम प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
यो आयोजना अन्तर्गत करिब एक करोड ७२ लाख रुपैयाँ लागतमा नाला तथा ढलान निर्माण सुरु गरिएको हो।
वीरगन्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारका अनुसार, महानगरको वडा नं. १८ सुप्चैना र वडा नं. २१ परवानीपुरसम्म एक हजार २५६ मिटर लम्बाइमा नाला तथा ढल निर्माण गरिनेछ।
योजनाले स्थानीय बासिन्दालाई वर्षायाममा वर्षौंदेखिको जल जमाव र सडक अवरुद्धको समस्याबाट मुक्ति दिने अपेक्षा गरिएको छ।
