वीरगञ्ज, ३ जेठ — पर्सा जिल्ला मधेस प्रदेशकै पहिलो ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’ घोषणा भएको छ। शनिबार वीरगञ्जमा आयोजित एक विशेष कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले औपचारिक रूपमा पर्सालाई यो उपाधि प्रदान गरेका हुन्।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार जिल्लाका १४ वटै पालिकामा जन्मेदेखि २३ महिना मुनिका सबै बालबालिकाले नियमित खोपका सम्पूर्ण मात्रा प्राप्त गरिसकेका छन्। जिल्लामा गरिएको व्यापक अनुगमनका क्रममा आंशिक रूपमा खोप छुटेका १,५१८ बालबालिका र खोप नपाएका ७ बालबालिकालाई समेत खोपको पहुँचमा ल्याएर यो उपलब्धि हासिल गरिएको हो।
यसअघि २०८१ जेठ ३ गते पर्सालाई ‘पूर्ण खोपयुक्त जिल्ला’ घोषणा गरिएको थियो। त्यसपछि गरिएको निरन्तर निगरानी, अनुगमन र छुटेका बालबालिकाको पहिचानमार्फत हाल पर्सा ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ को मान्यता पाउने पहिलो जिल्ला बन्न सफल भएको ठाकुरले बताए।
कार्यक्रममा उत्कृष्ट योगदान पुर्याएका जिल्लाका सबै पालिकाका एक-एक स्वास्थ्य संस्थालाई कदरपत्रसहित सम्मान गरिएको थियो।
जिल्ला खोप समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्यमन्त्री सिंह प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव राकेश मिश्रा, पर्साका निमित्त स्वास्थ्य प्रमुख प्रमोद झा, पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहान, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नारायणी अस्पतालका मेसु डा. चुमनलाल दास, सुरक्षा निकायका उच्च अधिकारीहरु, खोपदूतहरु र १४ पालिकाका स्वास्थ्य शाखा प्रमुखको समेत उपस्थिति थियो।
