आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा वृत्तचित्र ‘देवी’ को विशेष प्रदर्शन, यौन हिंसा पीडितको आवाज बुलन्द

Avatar photo दिशा निर्देश ३ जेष्ठ २०८२, शुक्रबार १०:५९ मा प्रकाशित (११ महिना अघि)

वीरगञ्ज । द्वन्द्वकालमा यौन हिंसाको सामना गरेका पीडित महिलाहरूको कथा उजागर गर्ने उद्देश्यले निर्माण गरिएको वृत्तचित्र ‘देवी’ को विशेष प्रदर्शन वीरगञ्जमा सम्पन्न भएको छ। आदर्शनगरस्थित क्युएफएक्स सिनेमा हलमा आयोजित सो प्रदर्शन चलचित्र पत्रकार संघ नेपाल, पर्सा र सामुदायिक संस्था सानो पाइलाको संयुक्त पहलमा आयोजना गरिएको हो।

निर्देशक सुबिना श्रेष्ठको निर्देशनमा तयार पारिएको वृत्तचित्र ‘देवी’ पूर्व माओवादी लडाकु, राजनीतिज्ञ तथा यौन हिंसा पीडित देवी खड्काको जीवनमा आधारित छ। युद्धमा होमिएकी एक युवतीको पीडा, संघर्ष र न्याय खोजीको यात्रा चित्रण गरिएको यो वृत्तचित्रले द्वन्द्वपछिको नेपालको संवेदनशील यथार्थलाई उजागर गर्छ।

प्रदर्शनपछि आयोजित छलफल सत्रमा वक्ताहरूले यौन हिंसाका पीडितहरूको आवाज बुलन्द गर्न देवी खड्काले देखाएको साहसको प्रशंसा गरे। उनीहरूले यस्ता वृत्तचित्रहरूले समाजलाई अनुहार देखाउने ऐना बन्ने बताए।

कार्यक्रममा मधेश प्रदेशका प्रदेशसभा सदस्य रहबर अंसारी, नारायणी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) की इञ्चार्ज हेमा थापा, महिला उद्यमी गुड्डी जोशी, महिला अधिकारकर्मी डा. सुष्मा तिवारी द्विवेदी, वीरगञ्ज जेसीजका अध्यक्ष सरोज चौरसिया लगायतले वृत्तचित्रबारे धारणा व्यक्त गरेका थिए।

प्रदेशसभा सदस्य अंसारीले भने, “हरेक राजनीतिक आन्दोलनले लैंगिक हिंसा ओझेलमा पार्छ। ‘देवी’ जस्तो वृत्तचित्रले त्यस्ता गुमनाम पीडाहरू समाजमाझ ल्याउने प्रयास गरेको छ।”

महिला अधिकारकर्मी डा. तिवारी द्विवेदीले वृत्तचित्रले महिलाहरूमा लुकेको साहस उजागर गरेको बताइन् भने महिला उद्यमी जोशीले समाजमा मौनतामा दबिएका मुद्दाहरूलाई आवाज दिने माध्यम भएको उल्लेख गरिन्।

मधेश क्षेत्र पनि द्वन्द्वबाट प्रभावित भए पनि यहाँका पीडितका कथा अझै ओझेलमा रहेको चर्चा गर्दै आयोजकहरूले यो प्रदर्शनले त्यस बहसलाई मधेशसम्म ल्याउने प्रयत्न गरेको बताए।

चलचित्र पत्रकार संघ नेपाल, पर्साका अध्यक्ष सूर्यनारायण वि.क.ले वृत्तचित्रलाई पत्रकारिता सरह समाजको ऐना भन्दै ‘देवी’को कथालाई साहसिक र प्रेरणादायी ठहर गरे।

वृत्तचित्र हेरेपछि सहभागीहरूले ‘देवी’ले ल्याएको कथाले व्यक्तिगत पीडा, सामाजिक उदासीनता र न्यायप्राप्तिका लागि गरिएका संघर्षहरूलाई सजीव ढंगले चित्रण गरेको प्रतिक्रिया दिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्ष अशोक टेमानी, नेपाल पत्रकार महासंघ पर्सा अध्यक्ष ओमप्रकाश खनाल, सामाजिक अभियन्ता प्रकाश थारु, एनप्याब्सन पर्सा अध्यक्ष रामराज श्रेष्ठ, पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, जनमत पार्टी पर्सा अध्यक्ष ओमप्रकाश सर्राफ, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाई, भोजपुरी प्रतिष्ठान वीरगञ्जकी अध्यक्ष अनिता साह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


सम्बन्धित खबरहरु