काठमाडौँ, २ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै विशिष्ट महत्त्व रहेको बताएका छन्।
शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा उनले यस वर्ष मक्का–मदिना हज यात्रा जान लागेका हजयात्रीहरूलाई शुभकामना दिँदै सो धारणा व्यक्त गरेका हुन्।
राष्ट्रपतिले हजजस्तो पवित्र यात्राले आपसी भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकता सुदृढ बनाउन योगदान गर्ने विश्वास व्यक्त गरे। “विविध जातजाति, भाषा र संस्कृतिले भरिएको हाम्रो देशमा सबैले मिलेर सांस्कृतिक संरक्षण र संवद्र्धनमा लाग्नुपर्छ,” राष्ट्रपति पौडेलले भने, “हजयात्राले यसमा ठुलो भूमिका खेल्नेछ भन्ने विश्वासका साथ तपाईंहरूको यात्राको सफलताको शुभकामना व्यक्त गर्दछु।”
उनले ऐतिहासिक रूपमा नेपाल राज्य निर्माणमा मुस्लिम समुदायको योगदान उल्लेखनीय रहेको पनि स्मरण गरे। साथै, हज यात्रामा सहभागीहरूको सहजताका लागि आवश्यक सबै सेवा-सुविधा सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै उनले हज व्यवस्थापनका लागि समयसापेक्ष नीति, नियम र प्रबन्ध गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा राष्ट्रपति पौडेलले हजयात्रीलाई गम्छा र टोपी लगाएर बिदाइ गरे।
मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहमुद्धिन मियाँले यसपटक राष्ट्रपतिबाट राष्ट्रपति भवनमै हजयात्रीलाई शुभकामना दिइ बिदाइ गरिनु गौरवको विषय भएको प्रतिक्रिया दिए।
