काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र एसियाली विकास बैंक (ADB) की उपाध्यक्ष फातिमा एस्मिनबीच सहरी पूर्वाधारका चालु तथा भावी परियोजनाहरूको प्रभावकारी कार्यान्वयनबारे सकारात्मक छलफल भएको छ।
सहरी विकास मन्त्रालयमा बिहीबार भएको शिष्टाचार भेटका क्रममा दुबै पक्षबीच वर्तमानमा सञ्चालनमा रहेका योजनाहरूको प्रगति समीक्षा तथा आगामी दिनमा सहकार्य विस्तार गर्ने सम्भावनाका विषयमा विचारविमर्श गरिएको थियो।
मन्त्रालयका सचिव गोपाल सिग्देलका अनुसार एडीबीको सहयोगमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विकास विभागमार्फत विभिन्न परियोजना सञ्चालनमा छन्। यी परियोजनाले काठमाडौं उपत्यकाको दिगो सहरी विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
सिंहको सचिवालयका अनुसार भेटमा उपाध्यक्ष एस्मिनले हालसम्मको सहकार्यप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा साझेदारीलाई थप सुदृढ बनाउने प्रतिवद्धता जनाइन्।
उपप्रधानमन्त्री सिंहले पनि एडीबीको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै सहरी पूर्वाधार विकासका साझा लक्ष्यहरूमा सहकार्य अझ मजबुत पार्ने विश्वास व्यक्त गरेका छन्।
