काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिका क्षेत्रमा वर्षौंदेखि चल्दै आएको नक्कली कागजात बनाउने कारखाना अन्ततः प्रहरीको फन्दामा परेको छ ।
तारकेश्वर–७, फुटुङस्थित एक घरमा सञ्चालित उक्त कारखानामा प्रहरीले बुधबार छापा मार्दै तीनजनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कारखानामा सरकारी तथा निजी क्षेत्रका विभिन्न महत्वपूर्ण कागजातहरू—जग्गाधनी प्रमाणपत्रदेखि शैक्षिक योग्यताको सर्टिफिकेट, सिफारिस पत्र, बैंक कागजात, सवारी चालक अनुमति पत्रसम्म—नक्कलीरूपमा तयार पारिन्थ्यो ।
विहीबार पत्रकार सम्मेलन गर्दै प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा गोरखा भीमसेन थापा गाउँपालिका–१ का अञ्जनी बयलकोटी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ का निर्मल खड्का, र मकवानपुरको कैलान गाउँपालिका–२ की अञ्जु खत्री रहेका छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू पछिल्लो आठ वर्षदेखि नक्कली कागजात उत्पादन गर्दै आएका थिए । झूठा विवरणसहित डिपेन्डेन्ट भिसाका लागि बनाइने नक्कली विवाह प्रमाणपत्रदेखि लिएर शैक्षिक संस्थाहरूका सर्टिफिकेटसम्म उत्पादन गरी प्रयोगमा ल्याउने गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट कागजात उत्पादनमा प्रयोग हुने उपकरण, स्ट्याम्प, लेटरहेड, प्रिन्टर र विभिन्न नक्कली प्रमाणपत्रहरू बरामद गरेको छ ।
प्रहरी अनुसन्धान जारी रहेको छ भने कारबाही प्रक्रियाका लागि उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
