जेठ,१ काठमाडौं । कप्तान इन्दु बर्माको आक्रामक ब्याटिङले नेपाललाई आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा बहराइनसँग हारबाट जोगाएको छ ।
वर्षाका कारण सात ओभरमा झारिएको खेलमा नेपालले ५६ रनको लक्ष्य ८ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्दै जित हात पार्यो ।
नेपालको सुरुवात राम्रो नभए पनि कप्तान इन्दुले विस्फोटक पारी खेलेर टोलीलाई जितसम्म पुर्याइन् । ३.५ ओभरसम्म २३ रनमै ४ विकेट गुमाएको नेपालका लागि इन्दुले मात्र ७ बलमा अविजित २४ रनको आक्रामक पारी खेलिन् ।
इन्दुले पाँचौं ओभरमा लगातार तीन चौका प्रहार गरिन् भने छैटौं ओभरमा एक चौका र एक छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गराइन् ।
यसअघि सम्झना खड्का ५, रुबी पोदार १, कविता जोशी शून्य तथा पूजा महतो १३ रनमा आउट भएकी थिइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ३ विकेटको क्षतिमा ७६ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण खेल रोकिएको थियो । डकवर्थ लुइस पद्धतिअनुसार नेपाललाई ७ ओभरमा ५६ रनको परिमार्जित लक्ष्य दिइएको थियो ।
समूह चरणमा बहराइनले दुवै खेलमा नेपाललाई प्रतिस्पर्धात्मक चुनौती दिएको भए पनि नेपाल विजयी बन्न सफल रह्यो ।
अब समूहको अन्तिम खेलमा शुक्रबार हङकङ र बहराइनबीच प्रतिस्पर्धा हुनेछ ।
यदि सो खेलमा हङकङ विजयी भयो वा खेल वर्षाका कारण सम्पन्न हुन सकेन भने हङकङ नेट रनरेटको आधारमा सुपर ३ मा प्रवेश गर्नेछ र नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।
नेपालको लागि सुपर ३ मा स्थान सुरक्षित गर्न अब बहराइनले हङकङलाई हराउनु पर्नेछ ।
