काठमाडौं — प्रदेश सरकारहरूमध्ये गत आर्थिक वर्षमा सबैभन्दा धेरै बेरुजु देखिएको प्रदेश मधेश भएको छ। महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनअनुसार मधेश प्रदेशमा बेरुजु अनुपात २.५७ प्रतिशत रहेको छ, जुन प्रदेश सरकारहरूबीच सबैभन्दा उच्च हो।
प्रतिवेदनअनुसार प्रदेश सरकारतर्फ औसत बेरुजु १.३६ प्रतिशत कायम भएको छ। मधेशपछिल्लो स्थानमा कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् भने सबैभन्दा कम बेरुजु देखिएको प्रदेश बागमती हो, जसको बेरुजु दर ०.८२ प्रतिशत छ।
त्यस्तै, स्थानीय तहहरूको सन्दर्भमा लेखापरीक्षण अंकको तुलनामा औसत बेरुजु २.२६ प्रतिशत देखिएको महालेखाले उल्लेख गरेको छ।
महालेखाका अनुसार देशभरका ६९२ स्थानीय तहको बेरुजु ५ प्रतिशतभन्दा कम रहेको छ। त्यस्तै, ५ देखि १५ प्रतिशत बेरुजु हुने स्थानीय तहको संख्या ६८ रहेको उल्लेख छ।
