वीरगञ्ज, ३१ बैशाख — वैदेशिक रोजगारीसम्बन्धी कसुरमा संलग्न एक प्रतिवादीलाई वीरगन्जबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति वीरगन्ज महानगरपालिका–२४ निवासी ६८ वर्षीय सितारामप्रसाद कुर्मी हुन्।
वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा वैशाख ७ गते दर्ता भएको मुद्दामा नेपाल सरकार वादी र दीपकप्रसाद कुर्मीसहितका प्रतिवादी रहेकोमा सितारामप्रसाद पनि सोही मुद्दामा संलग्न थिए।
विभागले वैशाख १७ गते पर्सा प्रहरीलाई पत्राचार गर्दै कुर्मीको खोजी तथा पक्राउको आग्रह गरेको थियो। सोही आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार उनलाई घरमै लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।
पक्राउलगत्तै उनलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन काठमाडौंस्थित वैदेशिक रोजगार विभागमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
