आज:  | Tue, 21, Apr, 2026

भारतबाट तस्करी गरेर ल्याइएको ठूलो परिमाणको गहुँ र चामलको कनिका पर्सामा बरामद

Avatar photo दिशा निर्देश १ जेष्ठ २०८२, बुधबार १८:०८ मा प्रकाशित (११ महिना अघि)

वीरगञ्ज, ३१ बैशाख — सशस्त्र प्रहरीले पर्साको ग्रामीण क्षेत्रबाट भारतबाट तस्करी गरी ल्याइएको ठूलो मात्रामा गहुँ र चामलको कनिका बरामद गरेको छ।

बिन्दवासिनी गाउँपालिका–४, अमरपट्टी नाकास्थित एक खेतमा भण्डारण गरेर राखिएको १०६ बोरा गहुँ र २८ बोरा चामलको कनिका फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए। उनका अनुसार गहुँको कुल तौल ५३ क्विन्टल र चामलको कनिका ११ क्विन्टल ६४ किलो रहेको छ।

तस्करहरूले भन्सार छलि भारतबाट ल्याएर घरअगाडिको खेतमा लुकाइराखेको उक्त सामग्री बुधबार दिउँसो सशस्त्र प्रहरीले बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, पर्सा र सीमा सुरक्षा गुल्म अलौबाट खटिएको संयुक्त टोलीले अनुगमनको क्रममा उक्त अवैध सामग्री फेला पारेको थियो। बरामद सामग्रीको बजार मूल्य करिब २ लाख ३१ हजार २० रुपैयाँ बराबर हुने अनुमान गरिएको छ।

उक्त गहुँ र चामलको कनिका आवश्यक प्रक्रिया पूरा गरी बुधबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु