वीरगञ्ज, ३१ बैशाख — पर्साको जगरनाथपुर गाउँपालिका–५ मा नवनिर्मित वडा कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ। पूर्व उद्योग मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले भवनको उद्घाटन गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री रिजालले समावेशी विकासका लागि सबै राजनीतिक दलहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उनले लोकतन्त्र र संघीयताको अनुभूति जनताले त्यतिबेला मात्र गर्न सक्ने उल्लेख गरे जब गाउँठाउँमै प्रत्यक्ष विकास देखिन्छ।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले आफ्नै भवनबाट सेवा सुरु भएपछि कर्मचारीलाई सहज हुने र सेवाग्राहीले पनि प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गरे। उनले विकास निर्माणका काममा सबै वडामा ध्यान केन्द्रित गरिएको जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवका अनुसार वडा कार्यालयको दुईतले भवन जिल्ला समन्वय समिति पर्सा र गाउँपालिकाको संयुक्त लगानीमा करिब १ करोड १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।
वडाध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षता र पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य शंकर चौधरी, उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
