मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा करेन्ट लागेर दुई महिलाको ज्यान गएको छ । घटना वैशाख ३० गते राति एक विवाह समारोहको क्रममा भएको हो ।
स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाहका अवसरमा नाचगान भइरहेकै बेला अचानक करेन्ट लाग्दा ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए । करेन्ट लागेर ३० वर्षीया राधाकुमारी सिंह पनि घाइते भएकी छन् ।
घटनाको कारण भने हावाहुरीसँग जोडिएको छ । विवाहस्थलमा माइक जडान गर्न प्रयोग गरिएको हरियो बाँस हाइटेन्सन लाइन नजिकै गाडिएको थियो । राति करिब ८ बजेतिर आएको हावाहुरीले बाँस ढालिएर सो लाइनमा ठोक्किँदा करेन्ट प्रवाह भएको थियो ।
गम्भीर घाइते भएका दुई जनालाई तत्कालै उपचारका लागि रंगेली अस्पताल लगिएको थियो, तर चिकित्सकले उनीहरूलाई मृत घोषित गरेका थिए । घाइते राधाकुमारी सिंह भने झुर्किया स्थित नगर अस्पतालमा उपचारपछि घर फर्किइसकेकी छन् ।
