काठमाडौं — नेपाल प्रहरीले आर्थिक तथा वित्तीय अपराधहरूलाई लक्षित गर्दै नयाँ अनुसन्धान इकाइ स्थापना गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) अन्तर्गत गठन गरिएको यो इकाइको नेतृत्व एसएसपी स्तरका अधिकृतले गर्नेछन्।
प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाका अनुसार हाल सिआइबीमा कार्यरत एसएसपी होबिन्द्र बोगटीकै नेतृत्वमा इकाइको प्रारम्भिक संरचना अघि बढाइएको छ। थापाका अनुसार प्रहरी प्रधान कार्यालयले यस विषयमा गृह मन्त्रालयमा प्रस्ताव पेस गरिसकेको छ र सैद्धान्तिक सहमति पनि प्राप्त भइसकेको छ।
“दरबन्दी निकासा नभइसकेकाले हाललाई सिआइबीको मातहतमा राखिएको हो,” थापाले भने, “तर, निकट भविष्यमै दरबन्दी स्वीकृत भएसँगै यो छुट्टै स्वरूपमा अगाडि आउनेछ।”
प्रहरी स्रोतका अनुसार यो ब्युरोलाई अन्य प्राविधिक ब्युरोहरूजस्तै दक्ष बनाउने योजना छ। कम्तीमा साढे तीन सय जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ।
एसएसपी थापाका अनुसार नवगठित इकाइले विशेषगरी संगठित, अन्तरदेशीय, बैंकिङ ठगी, तथा ठूला आर्थिक अपराधहरूमा केन्द्रित हुनेछ। “सिआइबीको कार्यभार पहिल्यै धेरै भएकाले यसलाई विशिष्टीकृत गर्दै वित्तीय अपराधमाथि गहिरो अनुसन्धान गर्ने गरी यो पहल अघि बढाइएको हो,” उनले बताए।
प्रविधिमैत्री अनुसन्धान, दक्ष जनशक्ति विकास र प्रभावकारी अनुसन्धान प्रणाली निर्माणलाई प्राथमिकता दिँदै आर्थिक अपराध नियन्त्रण गर्ने लक्ष्यका साथ नेपाल प्रहरीले नयाँ अध्याय सुरु गरेको छ।
