आज:  | Tue, 21, Apr, 2026

बाराका हुलाक कर्मचारीविरुद्ध पाँच करोड रुपैयाँ हिनामिनाको आरोपमा विशेष अदालतमा मुद्दा

Avatar photo दिशा निर्देश ३० बैशाख २०८२, मंगलवार १४:५१ मा प्रकाशित (११ महिना अघि)

बारा । बारास्थित जिल्ला हुलाक कार्यालयमा कार्यरत नायब सुब्बा तथा हाल कार्यालय प्रमुख बलिराम प्रसाद कुर्मीसहित पाँचजना तत्कालीन कर्मचारीविरुद्ध पाँच करोडभन्दा बढीको सरकारी रकम हिनामिनाको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम मुद्दा दायर गरेको हो। आरोपपत्रअनुसार, कुर्मीसहितका कर्मचारीहरूले हुलाक बचत बैंकमार्फत सर्वसाधारणबाट संकलित बचत रकम कुनै आधिकारिक लेखाजोखा नगरी अपचलन गरेका हुन्।

अनुसन्धानमा कुर्मीले २०६० सालदेखि बैंकको जिम्मेवारी सम्हाल्दै आएको र सो अवधिमा बचत रकम नगदी रजिस्टरमा नचालानी गरी केवल लेजर बुक र पासबुकमा मात्र विवरण राखेर रकम दुरुपयोग गरेको खुलेको छ। उनले कार्यालयका तत्कालीन प्रमुखहरूसँग मिलेमतो गरी रकम बाँडफाँड गरेको आयोगको दाबी छ।

विशेष अदालतमा दायर आरोपपत्रमा कुर्मीसहित तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साहसमेत संलग्न रहेको उल्लेख छ। उनीहरूले खाताको लेखाजोखा नगरी, नगदी विवरण केन्द्रीय कार्यालयमा नपठाई तथा आवश्यक छानबिन नगरी रकम अपचलनमा संलग्न रहेको आरोप छ।

आयोगका अनुसार उनीहरूले पाँच करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ ३३ पैसाको सरकारी रकम दुरुपयोग गरेको देखिएको छ। सोही रकम बराबर बिगो कायम गर्दै कैद सजाय र जरिवाना मागदाबी गरिएको छ।


सम्बन्धित खबरहरु